झापाको नेविसंघ सभापतिमा विवाद
बिर्तामोड । झापामा नेपाल विद्यार्थी संघको सभापतिमा विवाद शुरु भएको छ । नेपाली कांग्रेसको विद्यार्थी संघमा दुई जनाले सभापतिमा दावी गरेपछि विवाद भएको हो ।
नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले झापा मेचीनगरका सन्जय निरौलालाई सभापतिको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले जिल्ला सभापतिको रुपमा निरौलाको नाम नेविसंघको केन्द्रलाई सिफारिस गरेका थिए । सोही बमोजिम केन्द्रीय समितिले निरौलालाई काम कारवाही शुरु गर्ने गरि परिपत्र समेत गरिसकेको छ । नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले जिल्लामा सभापति रित्त रहेको भन्दै निरौलालाई पार्टीको सिफारिसमा सभापतिको जिम्मेवारी दिएको बताएका छन् ।
यता, मेची क्याम्पसका स्ववियु सभापति समेत रहेका भुवन बुढाथोकीले आफुलाई सभापतिको रुपमा दावी गरेका छन् । नेविसंघ झापाको लेटरप्याडमा विज्ञप्ति जारी गर्दै उनले नेविसंघ झापाको सभापतिमा अर्को व्यक्ति तोकिएको विषय षडयन्त्र पूर्वक र एकपक्षीय भएको बताए । उनले विज्ञप्ति मार्फत आफु नै नेविसंघ झापाको सभापति भएको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् । बुढाथोकीले आफ्नो कार्यसमिति निर्वाचित भएर आएको बताए । निर्वाचित कार्यसमितिलाई नेविसंघको नाममा आएको पत्र मान्य नहुने उनको भनाई छ ।