बैशाख २५, २०८१ मंगलबार

फेरि कोरोनाको त्रास

सम्पादकीय
चैतको पहिलो हप्तादेखि नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । दैनिक संक्रमण बढिरहेपछि स्वास्थ्य मन्त्रालयले सतर्क रहन आम नागरिकलाई पनि सचेत गराइसकेको छ । तथापि, सर्वसाधारण नागरिक कोरोना संक्रमणप्रति वेवास्था गरिरहेका छन् । नेपालमा पहिलो पटक कोरोना संक्रमण हुँदा डरलाग्दो परिस्थिति थियो । कोरोना संक्रमित भएको व्यक्तिको घरको बाटो समेत नहिड्ने, त्यो परिवार पुगेको पसलमा नजाने लगायत विविध समस्याहरु थिए । पहिलो र दोस्रो चरणमा देखिएको संक्रमणबाट हजारौं ज्यान नै गुमाउनु परेको थियो । कोरोनाका कारण धेरै परिवार उजाडिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले सङ्क्रमण बढ्दै गएको छ ।

कोरोनाका कारणले ज्यान गुमाउने परिवारलाई त्यसको पीडा थाहा छ । त्यसैले अहिलेको संक्रमणलाई रोक्न बेलैमा सर्तकता अपनाउन सकिन्छ । त्यसका लागि रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहबाट योजना बनाई काममा लाग्नुपर्ने देखिन्छ । कतिपयले अहिलेसम्म खोप नलगाएको अवस्था पनि छ । आफ्नो सुरक्षाका लागि तत्काल कोभिड विरुद्धको खोप लगाऔं । यहि महिना दुई सय २७ सक्रिय संक्रमित पुगेको अवस्था छ । थप लापरबाही नगरौं । बेलैमा कोभिडबाट आफु बचौं, अरुलाई पनि बचाऔं । थप फैलिन नदिन सचेत होऔं ।

प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]