जेष्ठ ५, २०८१ शनिबार

रक्षकबाटै वन असुरक्षा

सम्पादकीय
एक बेला वन जंगलमा तस्करको हालीमुहाली हुन्थ्यो । वनजंगल तस्करबाट जोगाउन धेरै प्रयास गर्दा पनि नतिजा प्राप्त हुन सकेन । जसका बाबजुत वन जंगलको सुरक्षाका लागि समुदायलाई हस्तान्तरण गर्ने योजना आयो । समुदायबाट वन जंगलको सुरक्षा गर्ने र नियम बमोजिम उपभोग गर्ने नीति अनुरुप सामुदायिक वन गठनको प्रारुप तयार भएको थियो । आज देशभर सोही नीति बमोजिम सामुदायिक वन उपभोक्ता समूह गठन भएको छ । वनको सुरक्षामा उपभोक्ता समितिलाई विश्वास गरिएको छ । तर, यसबाट पनि पार नलाग्ने अवस्थाको निर्माण हुन थालेको छ ।

सामुदायिक वनमा यतिवेला सुरक्षाको सवाल वेजोड ढंगबाट उठेको छ । कतिपय सामुदायिक वनहरुमा मौलाएको तस्करीले उपभोक्ता समितिका पदाधिकारीहरुको नियतमा प्रश्न उठ्न थालेको छ । संरक्षणको लागि गठित उपभोक्ता समितिकै नाममा भइरहेको तस्करीले वनमा असुरक्षा बढिरहेको छ । भर्खरै झापा र इलामसँग जोडिएको सतासी सामुदायिक वनको एउटा घटनाले सामुदायिक वनमा असुरक्षा बढिरहेको र तस्करी मौलाइएरहेको स्पष्ट हुन्छ । वन क्षेत्रको सुरक्षा गर्नुपर्नेहरुले नै तस्करी गरेको घटनाले उपभोक्ता समितिमाथि आशंका थपेको छ ।

सतासी सामुदायिक वनका अध्यक्षसहित चालकसम्मलाई डिभिजन वन कार्यालय इलामले पक्राउ गरि मुद्धा प्रक्रिया अघि बढाएको छ । वनभित्र १७ वटा रुख कटान गरेको, कोष हिनामिना गरेको मुद्धामा उनीहरुलाई पक्राउ गरिएको हो । वनमा सुरक्षा गर्ने दायित्व नै अध्यक्षसहित पदाधिकारीसँग हुन्छ । तर, उनीहरु नै पक्राउ परेको घटनाले सतासी वन तस्करीका कारण विनास भइरहेको छ भन्ने बुझ्न सकिन्छ । अब, आम उपभोक्ताहरुले वनभित्रको आवश्यक खोजी गर्न जरुरी छ । उपभोक्ताको आँखा छलेर तस्करी गर्ने जो सुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । कानुनी दायरा ल्याएर संरक्षकको भूमिकामा रहेर भक्षकको काम गर्नेलाई कारबाही गर्नुपर्छ । तब मात्र वनजंगल सुरक्षित बनाउन सकिन्छ ।

प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]