बैशाख २४, २०८१ सोमबार

शिक्षकलाई धम्क्याउने काम बन्द गरेर जायज माग सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका मागलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

बिहीबार राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले झापाको दमकमा आयोजना गरेको समृद्ध नेपाल, सुखी नेपाली विषयक नगरस्तरीय अन्तरमावि तह वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन संघीय र स्थानीय सरकारलाई चेतावनी दिनुभयो ।

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कारबाही गर्ने चेतावनी दिएको प्रति पनि अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकहरू आन्दोलनमा छ, स्थानीय तहहरू धम्क्याइरहेका छन्, सरकार भन्ने बित्तिकै धम्क्याइ हाल्नुपर्छ ?’

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षकलाई नधम्क्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइ रहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ, ती समस्याहरू समाधान दिनुपर्छ, कति अहिले दिने, कति पछि दिने ? गुरुहरू नबुझ्ने मान्छे हुँदैनन्, पढेलेखेका मान्छे हुन्छन्, बुझ्छन्, बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गरिनु पर्छ ।’

सरकारले धम्कीको भाषा बोल्न नमिल्ने ओलीले बताउनुभयो । एउटा मान्छेले गरेको कमजोरी रोक्न नसक्ने सरकारले देशभरिका गुरुहरूलाई जागिरबाट निकाल्ने धम्की दिनु गैरजिम्मेवार कुरा भएको ओलीले बताउनुभयो । शिक्षण संस्था बन्द गराउन एकजना मानिस अनसन बस्दा उसका माग सम्बोधन गर्नुप¥यो भनेर कोकोहोलो गर्नेहरू अहिले देशभरिका शिक्षक आन्दोलनमा उत्रिँदा पनि मौन बसेका भन्दै उहाँले आलोचना गर्नुभयो ।

शिक्षकका मागप्रति ध्यान दिएर यथोचित सम्बोधन गरी आन्दोलन धेरै लम्ब्याउन नदिन नहुने उहाँले बताउनुभयो । शिक्षकको आन्दोलन लम्बिनु कसैको हितमा नभएको ओलीले टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]