बैशाख २०, २०८१ बिहीबार

बिर्तामोडको जेसीजमाथि अन्याय नगर

सम्पादकीय
जेसीज भन्नासाथ आम बुझाई – क्षमता तथा नेतृत्व विकास गर्ने ठाउँ भन्ने बुझाई हुन्छ । शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने मान्यता बोकेको जेसीजमाथि पछिल्लो समय चरम अन्याय भइरहेको छ । जब, जसीजमा विधिको शासन हुदैन, तव अन्याय सुरु हुन्छ । यस्तै भइरहेको छ, झापाको बिर्तामोडमा रहेका दुई वटा जेसीज संस्थाभित्र । वीरता लेडी जेसीज र वीरता जेसीजमा । उत्कृष्टताको अवार्ड निरन्तर पाइरहने जेसीजभित्र जेसी–जेसीबीच ठुलो लडाई छ । मनमुटाव छ । क्षमता विकास गर्ने भन्दा पनि स्वार्थ केन्द्रीत गतिविधिले जेसीजलाई फोहोरी राजनीतिक गर्ने थलो बनाइएको देखिन्छ ।

झापाको बिर्तामोडमा वीरता लेडी जेसीजको गत सातामात्रै नयाँ नेतृत्व निर्वाचित भयो । विवाद र लफडाका बीच लेडी जेसीजको नेतृत्व चयन भइसकेको छ । लेडी जेसीजको नेतृत्व भन्दा पनि कुनै एउटा राजनीतिक दलको भातृ संस्थाको नेतृत्व जस्तो देखिने लेडी जसीज आम जेसीहरुको साझा संस्था बन्न सकेन । सबैको साझा संस्था लेडी जेसीजमाथि लेडी जेसीहरुले पनि ठुलो अन्याय गरिरहेका छन् । यस क्षेत्रमा तमाम महिलाहरु लेडी जेसीमा आवद्ध हुन पाउनुपर्ने हो । तर, लेडी जेसीमा केहि नेतृहरुको अवरोधले भएका सदस्यहरु पनि बारिह रहनुपर्ने देखिदैछ ।

यता, वीरता जेसीजमा उस्तै छ । जारी साधारणसभा स्थगित छ । जेसीजभित्र पनि दलहरुको जस्तो गुटउपगुटको विकास भइरहेको छ । पक्ष, विपक्षबीचको तनावले वीरता जेसीजलाई कमजोर बनाइदैछ । जेसी नियमको मात्रै पालना हुने हो भने यस प्रकारका कुनै पनि प्रश्नहरु तेर्सिने छैनन् । तर, विर्तामोडमा रहेका दुवै संस्थामा व्यक्ति स्वार्थ र राजनीतिक स्वार्थ हावी भएको छ । जबसम्म दुई स्वार्थ राखिन्छ, तबसम्म जेसीज ठिक ढंगले अघि बढ्न सक्दैन । १९ सदस्यहरुको अनुमोदन र मताधिकार पनि स्वार्थसँग बाझेको छ । सदस्यता रसिद काट्ने कार्यसमितिले आफ्नो दायित्व पुरा गर्नुपर्ने थियो । अहिले त्यसै विषयलाई मुद्धा बनाएर अधिवेशनमा प्रहार भइरहेको छ । कतिपयले प्रश्न गरेका छन्, ति सदस्यहरुले बुझाएको सदस्यता रकम कहाँ छ ? जेसीजलाई यसको मर्म अनुरुप अघि बढाउने हो भने विधिको शासन मान्नैपर्छ । विधिको शासनभन्दा बाहिर जाने हो भने यहाँ जेसी रहनु र नरहनुले केहि अर्थ राख्दैन । जेसी बन्नु र नबन्नुले केहि महत्व राख्नेछैन ।

प्रकाशित मिति : माघ १३, २०८० शनिबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]