बैशाख १५, २०८१ शनिबार

झापामा गजल प्रशिक्षण सम्पन्न

झापा – झापाको बिर्तामोडमा १ दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए ।

करिब सय जना सहभागी प्रशिक्षणमा गजलका आधारभूत तत्त्वबारे जानकारी दिइएको थियो । ‘वर्तमानमा अत्यधिक लेखिने विधा हो गजल’, ओझाले भने, ‘तर, गजलबारेका अन्योलले सर्जकमा भ्रम बढिरहेको छ, यसलाई चिर्न आवश्यक झ । यसका लागि अध्ययन, खोज र अभ्यास सँगसँगै गर्न जरुरी छ ।’

उनका अनुसार गजल लेख्न जति सजिलो छ भनिन्छ, बुझेर लेख्न धेरै गाह्रो छ । पछिल्लो समय बढी विवादमा रहेको बहरको आवश्यकताबारे प्रष्ट्याउँदै ओझाले भने, ‘बहर भन्नु लय हो । गजल गेय विधा भएकाले यसमा लय अनिवार्य हुनुपर्छ । गजलको गायन शास्त्रीय हुने हुँदा लामो (दीर्घ) र छोटो (ह्रस्व) उच्चारणको एकरूपता कायम गर्न बहरको निर्माण भएको हो । यस कारण गजलको काफियाजतिकै अतिआवश्यक तत्त्व बहर हो ।’

बहरमा लेख्दा पिङ्गल छन्दमा भन्दा केही सहज हुने भए पनि बहरका लचकताका नियमहरू बुझेर मात्र लचकताको प्रयोग गर्न ओझाले सुझाए । उनले भने, ‘बहरमा लेख्न राम्रो भाषिक ज्ञान, वर्णविन्यासको ज्ञान त अनिवार्य हुन्छ, यसका अतिरिक्त ३ वटा कुरामा विशेष ध्यान दिनुपर्छ- संस्कृत तत्सम शब्दमा छुट लिन पाइँदैन, नाम पदमा र अन्य अर्थ दिने अवस्थामा पनि छुट लिन पाइँदैन ।’

लचकता सिद्धान्त नभई नियम मात्र भएको र सकेसम्म लचकताको प्रयोग नगर्न गजलका विद्वानहरूले सुझाएका उनको भनाइ थियो ।

वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले झापामा पठन र लेखन संस्कृतिको प्रवर्द्धनका लागि समयसमयमा यस्ता कार्यक्रम गरिरहने बताए ।

आयोजक वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले संयोजन गरेको प्रशिक्षण कार्यक्रममा झापाका विभिन्न स्कुल, क्याम्पसका शिक्षक-विद्यार्थी, स्थानीय स्रष्टाहरूको ठूलो सङ्ख्यामा सहभागिता थियो ।

प्रकाशित मिति : माघ २९, २०८० सोमबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]