असार २८, २०८२ शनिबार

इलाम, पाँचथर र ताप्लेजुङमा बिजुली उत्पादन ठप्प

झापा । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित आयोजनाहरूको बिजुली उत्पादन बन्द भएको छ।

अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो।

जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ।

कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ।

इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ।

त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ।

पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिएको छ।

पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीका विभिन्न आयोजनाबाट ४० मेगावाट बिजुली उत्पादन हुँदै आएकामा त्यो पनि हाल घटेको छ।

वर्षा बढी हुँदा हिउँदका दिनमा कम चलेका आयोजनाको उत्पादन वृद्धि भए पनि पहिरो र बाढीका कारण कतिपय विद्युत् उत्पादनमा क्षतिसमेत भएको छ।

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  १२ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]