सरोज भट्टराई
शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा चासोक तङनाम यम महोत्सव पर्व बृहत रुपमा मनाइने भएको छ ।
किराँत थाक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा शिवसताक्षीको दूधे रंगशालामा परिसरमा मंसिर १३ गतेदेखि १८ गतेसम्म चासोक तङ्नाम पर्व मनाइने भएको हो । मंसिर १३ गतेदेखि मेला आयोजना गरिएको छ भने, १८ गते चासोकको मूख्य कार्यक्रम हुनेछ ।
चासोक तङ्नाम पर्वमा यस वर्ष याक्थुङ पाङबो (लिम्बु समुदायको परम्परागत बस्ती) झल्कने ३ ओटा मौलिक घर निर्माण गरिने किराँत थाक्थुङ चुम्लुङ अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनका अनुसार उक्त घर निर्माण सुरु भइसकेको छ ।

कार्यक्रम सबै समुदायहरुको साझा भएकाले च्याम्ब्रुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरु प्रस्तुत गरिने छ । धनुषकार्ड, छेलो हान्ने खेललगायतका प्रतियोगिताहरुको आयोजना गरिने अध्यक्ष जवेगुले जानकारी दिए । कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी, जातीय नृत्य, राष्ट्रिय कलाकार हिमाल सागर, सविना नेम्वाङ्ग लगायत स्थानीय बेन्डहरुको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न उपसमिति गठन गरिएको छ । जसमा १०१ सदस्यीय मुल समिति गठन भएको छ । मेला सञ्चालनका लागि रमेश तुम्बापोको संयोजकत्वमा मेला समिति, मौलिक घर निर्माणका लागि जापान थेवेको संयोजत्वमा समिति गठन भएको आयोजकले जनाएको छ ।
कार्यक्रम रोचक बनाउन आयोजकले राष्ट्रिय कलाकारहरुलाई पनि उपस्थित गराउने भएको छ । जसमा गायिका बविना किराँती आउने भएकी छिन् भने, जुनु प्रसाईसँग समन्वय भइरहेको अध्यक्ष जवेगुले जानकारी दिए । उनले भने, चासोक तङनाम पर्व सम्पन्न गर्न टुर्वोक वियरको पनि सहकार्यका लागि कुरा भइरहको छ ।
आयोजकले दूधेमा गरिने चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको छ । कार्यक्रम सम्पन्न गर्न ९ देखि ११ लाख खर्चकोे अनुमान गरिएको किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष विरवल जवेगुले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका, स्थानीय संघ संस्था, देश विदेशमा रहनु भएका दाजु भाई दिदीबहिनी, सहयोगी दाताहरुको रकमबाट कार्यक्रम सम्पन्न गर्ने बताए । यस वर्षको कार्यक्रमको तयारीका लागि समय छोटो भएकाले आर्थिक रुपमा समस्या पर्न सक्ने अध्यक्ष जवेगुको अनुमान छ। अध्यक्ष जवेगुले भने, हामी आशावादी छौं । चासोक तङनाम साझा नेपालीहरुको पर्व भएकाले पनि सँधै झै यस पल्ट पनि हामीलाई दाताहरुले माया गर्नु हुनेछ । चासोक तङनाममा पूर्वका १४ जिल्लाबाट दशौ हजारलाई सहभागी गराउने र प्रदेश ठुलो हुने अपेक्षा आयोजकको छ ।
चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनुअघि लिम्बूका आदिम पुर्खा सावाँ येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदः (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेला) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराई दिएको किम्बदन्ती रहेको छ ।
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ ।







प्रतिक्रिया