बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको सूर्योदय नगरपालिका ७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई शैक्षिक सामग्री (स्कुल ब्याग) प्रदान गरेको छ ।
आइतवार विद्यालयमा आयोजित कार्यक्रममा संस्थाले बाल कक्षादेखी पाँचसम्म अध्ययनरत २८ विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले शिक्षाको विकास र विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न कार्यक्रम गरिएको बताउँदै सहकारीले सामाजिक उत्तरदायित्व बहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक ज्योती न्यौपानेले सहयोगका लागि धन्यवाद दिँदै यसले विद्यार्थीको मनोबल बढाउने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयरमान खड्काले सहकारीको कदमको उच्च प्रशंसा गर्नुभयो । यसैगरी, व्यवस्थापक सरोज दाहालले यसअघि पनि संस्थाले यस्तै सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिँदै आगामी दिनहरूमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका हर्कटे सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक कुल प्रसाद पौडेल र जनप्रतिनिधि भानु प्रकाश खड्काले समेत मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा सहकारी संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको संस्थाका हर्कटे सेवाकेन्द्र प्रमुख सन्देश खड्काले बताउनुभयो । कार्यक्रम शिक्षक बुद्ध छिरिङ लाप्चाले सञ्चालन गर्नुभएको थियो ।
शैक्षिक सामग्री सहयोग गरिएको नवज्योति आधारभूत विद्यालयमा लोपोन्मुख जातिको सूचीमा रहेको लेप्चा समुदायका बाल बच्चाहरू समेत अध्ययनरत छन् ।







प्रतिक्रिया