मुख्य समाचार

प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ


सुनसरी । गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

घटनाका भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरूलाई  प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

प्रवक्ता खड्काका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउपर्नेमा इटहरी उपमहानगरपालिका-३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ-७ भई हाल इटहरी उपमहानगरपालिका-४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका-५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका-८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका-४ का २४ वर्षीय सोनम कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केहीलाई घरबाट नियन्त्रणमा लिइएको हो भने केहीलाई सडकबाट पक्राउ गरिएको हो । सोही घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रवक्ता खड्काले बताए ।

शेयर गर्नुहोस :

108
Shares