शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका–११ स्थित मैनाचरी आधारभूत विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
स्थानीय लमुमाया राईको परिवारले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित रु. ४५ हजार रुपैयाँ विद्यालयलाई प्रदान गरेका छन् । स्व. छविराज राईको स्मृतिमा उनकी श्रीमती लमुमाया राई, छोरी बेजर्नी र मनिता तथा छोरा मेहन्द्र राईले उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवराज राईले जानकारी दिए ।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्बोले विद्यालय सुधारका लागि स्थानीय अभिभावक तथा समुदायको सक्रियता पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको बताए । “विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार सबै सरोकारवालाहरूको साझा दायित्व हो । साथ सहयोग जुटेमा अझै उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ,” वडाध्यक्ष आङ्बोले भने ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवराज राईले सहयोगकर्ता राई परिवारप्रति आभार व्यक्त गर्दै उक्त रकमलाई शैक्षिक सामग्री विस्तार, सिकाई वातावरण सुधार तथा भौतिक पूर्वाधार स्तरोन्नतिमा खर्च गरिने बताए ।
२०४५ सालमा स्थापना भएको मैनाचरी आधारभूत विद्यालयमा हाल १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थानीय समुदाय, अभिभावक र स्थानीय सरकारको निरन्तर सहयोगले विद्यालयमा खानेपानी, शौचालय, खेलकुद सामग्री लगायत आधारभूत सुविधामा उल्लेख्य सुधार भएको विद्यालयले जनाएको छ ।







प्रतिक्रिया