बिर्तामोड । झापा क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि उम्मेदवारहरुको मत पुनःगणना हुने भएको छ । शनिवार भएको निर्वाचनको मत गणनाका क्रममा त्रुटि भएको आशंकापछि पुनःगणना गर्ने सहमति भएको हो ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि शनिवार जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । क्षेत्र नं. २ को खुल्ला तर्फ बलदेवसिंह गोम्देन तामाङको मत गणनामा छुटेपछि विवाद भएको थियो । तामाङको मत छुटेपछि राति नै स्थगित गरिएको गणना आइतवार विहानबाट सुरु गर्ने तयारी गरिएको थियो ।
मतगणनाको सन्दर्भमा विवाद भएपछि नेताहरुबीच जिल्ला पार्टी कार्यालय बिर्तामोडमा छलफल भएको थियो । छलफलमा बाँकी मत गणना गरेर जाने वा पुनःगणना गर्ने विषयमा छलफल केन्द्रीत रहेको एक नेताले जानकारी दिए । खुल्ला तर्फको मत पुनःगणना गर्ने सहमति भएपछि सोमवार विहानबाट गणना सुरु गरिने जनाइएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले पुनःगणना गर्ने नेताहरु बीच सहमति भएपछि उठेका छौं, विहान खुल्ला तर्फको पुनःगणना हुने छ, अध्यक्ष गिरीले भने – महिला र युवाको बाँकी मत गणना गरिनेछ ।
क्षेत्र नं. २ मा ५५.८१ प्रतिशत मत खसेको थियो । महिलामा पवित्रा महतारा प्रसाई, पवित्रा पाठक र सुनिता खरेलको मत अगाडि रहेको छ भने युवामा खगेन्द्रराज आङ्देम्वे (राज) ठुलो मतान्तरसहित अगाडि रहेका छन् ।
चर वटा क्षेत्रको नतिजा सार्वजनिक
झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिका देवी अधिकारी (गीता ), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए । युवा तर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।
झापामा दुई दलितसहित ३८ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । दलित तर्फ सर्वसम्मत गर्ने भनेपछि ३६ जनाको लागि निर्वाचन भएको थियो । ३६ जना प्रतिनिधि छनौटका लागि ९५ जना उम्मेदवार निर्वाचनमा सहभागी भएका थिए ।







प्रतिक्रिया