देवराज कार्की
नेपाली राजनीतिक जगतमा मात्रै होईन अन्तर्राष्ट्रिय जगतमा नै चर्चाको बिषय बनेको छ, २०८२ साल मंसिर २७,२८ र २९ गते सम्पन्न हुन गइरहेको नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन । नेपाल कम्युनिष्ट पार्टीको स्थापना जनताको लोकतान्त्रिक अधिकार र जनजीविकाका सवाल पूरा गर्ने उद्देश्यका साथ वि.सं. २००६ साल बैशाख १० गते कलकत्ताको श्याम बजारमा कमरेड पुष्पलालको नेतृत्वमा भएको थियो ।
बि.सं. २००६ सालदेखि हालसम्म नेपालको कम्युनिष्ट पार्टीको इतिहासलाई सुक्ष्म ढंगले अध्ययन गरी विश्लेषण गर्दा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आन्तरिक तथा बाहिरी प्रतिष्पर्धामा श्रेष्ठता कायम राख्दै गतिशील रहेको पार्टी नेकपा (एमाले) मात्र नेपालको मुख्य नेतृत्वदायी कम्युनिष्ट पार्टीको रुपमा स्थापित भएको छ ।
उक्त यथार्थलाई नेपाली जनताले अक्षरशः अनुमोदित गरिसकेका छन् । यति बेला नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनमा किन सबैको चासो र सरोकार रहेको छ भन्ने सवालमा अरुले हैन एमालेजनले नै होसियरीपूर्वक गम्भीर, शान्त भएर विश्लेषण गर्नुपर्ने समय आएको छ । यो समयमा टुटफुट र विभाजनमा रहनुभएका बिभिन्न कम्युनिष्ट पार्टीका कमिटीगत नेताहरु साथै नेतृत्व भन्दा बाहिर रहेका कम्युनिस्टहरू समेत एमालेको पनि हाम्रो जस्तै हविगत होस् भनेर शुभकामना दिइरहनुभएको छ ।

कम्युनिष्ट बाहेकका अरु देशभित्र–बाहिरका मित्रजनहरुले त यो तपस्या गर्नु स्वभाविक नै मान्नु पर्छ । देश एक किसिमको संकटको अवस्थामा छ । यो संकटलाई पार लगाई मुलुकलाई पुरानै लयमा फर्काउने नेतृत्व पनि एमालेले नै गर्नु पर्नेछ । यो समयमा दुनियाँका केही संचार माध्यमहरु मिथ्या डाटा प्रस्तुत गरेर एमाले बीचमा भाँडभैलो कसरी मच्चाउन सकिन्छ भनेर लागि परेका छन् । यी सबै दृष्टान्तलाई हेर्दा, बुझ्दा जसरी भए पनि एमाले पार्टीलाई विभाजन गर्न वा कमजोर शक्तिमा कसरी बदल्न सकिन्छ भन्ने एक मात्र चाल वर्तमान नेपाली राजनीतिमा चर्चाको बिषय बनेको छ ।
भनिन्छ, म कम्युनिष्ट पार्टीमा लागेको मेरो निम्ति केही पाउन मात्र हैन, समग्र नागरिकको मुक्तिको निम्ति लागेको हो । म जुन सुकै किसिमको त्याग गर्न पनि तयार छु, जो देश र जनताको हितमा रहोस् । यी हाम्रा आदर्शहरुलाई हामी एमालेजनका नेता कमरेडहरुले व्यवहारमा प्रदर्शन गर्ने समय आएको छ । यसको निम्ति ‘मेरो गोरुको दाम, बाह्रै टक्का’ नभनी पार्टी, पार्टी कार्यकर्ता, देश र नागरिकलाई शिरमा राखी यो पार्टीको ११औं राष्ट्रिय महाधिवेशन समन्वय, सहकार्य, परस्पर सद्भाव, आपसी कमरेडली भावका साथ सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको महाधिवेशनको रुपमा सम्पन्न हुन सकोस् । यसैमा एमालेजन, नेपाल र नेपालीको कल्याण हुनेछ । जय एमाले ।







प्रतिक्रिया