प्रदीप परियार
नेकपा एमालेले भव्यताका साथ ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय महाधिवेशनले एमालेभित्रको आन्तरिक लोकतन्त्रलाई नमूनाका रुपमा प्रस्तुत गर्न सफल भयो । जसको सराहना अन्य राजनीतिक दलहरुले समेत गरिरहेका छन् । सल्लाघारीमा मंसिर २७ गते लाखौं कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा उद्घाटन गरिएको महाधिवेशनको अन्त्यसम्म कुनै दुर्घटना भएन । एमालेले देखाएको अनुशासन अर्को तारिफको विषय बन्यो ।
लाखौं कार्यकर्ताहरु सडकमा आए । एमालेले शान्तिपूर्ण र एकताको सन्देश दिदैं महाधिवेशन सम्पन्न गरेको छ । २२ सय ६३ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विद्युतीय मेसिनको प्रयोगबाट मतदान भयो । स्वच्छ प्रतिष्पर्धाको उदाहरण प्रस्तुत गरेको एमालेको महाधिवेशन अन्य दलहरुको लागि पनि सिकाईको महाधिवेशन बन्न सफल भयो ।

११ औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा भयो । दुई नेताहरुले महाधिवेशनमा देखाएको सौहार्द सम्बन्धले कार्यकर्तालाई खुशी बनायो । ईश्वर पोखरेलले पछिल्लो समय दिएका अभिव्यक्तिहरुले महाधिवेशनमा त्यो सौहार्द सम्बन्धको अपेक्षा थिएन । तर, दुवै नेताले कार्यकर्ताको सामुन्ने देखाएको सम्बन्ध लोभलाग्दो थियो ।
निर्वाचनले केपी शर्मा ओलीलाई विजय गराएको छ । ईश्वर पोखरेल र अध्यक्ष ओलीबीचको मतान्तर सामान्य रहेन । यसले दुई नेताहरुले उठाएका मुद्धा अनुमोदन र खारेज गरेको छ । महाधिवेशनले अध्यक्ष ओली नेतृत्वलाई सानदार अनुमोदन गरेको छ भने उपविजेता पोखरेलका मुद्धालाई अस्वीकृत गरिसकेको छ ।
महाधिवेशनको बन्दशत्रमा कमरेड ईश्वर पोखरेलले गरेको सम्बोधन स्मरणमा छ, उहाँले भन्नुभएको थियो, पार्टीमा नेतृत्व र विचार ठिक छ । कार्यशैली बेठिक भयो । त्यस लगत्तै अध्यक्ष ओलीले कार्यशैलीमा कमजोरी भए सच्याउने स्पष्ट बनाउनुभयो । कार्यशैली सुधार गर्न सकिने विषय पनि हो । सबै नेता कार्यकर्ताको तहमा कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्छ । कार्यशैलीलाई थप उन्नत पनि बनाउनु पर्छ ।
नेतृत्व हस्तान्तर, पुस्तान्तरणको मुद्दा उठाउनु भएका पोरखेलले पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालना आदि विषयहरू उठाउदै आउनुभयो । जसलाई महाधिवेशनले अस्वीकृत गरेको छ । ति मुद्धामा पार्टी ठिक ढंगले अघि बढिरहेको सन्देश महाधिवेशनले दिएकै छ ।
यि मुद्धाहरु बाहिर प्रचारका लागि खोराक मात्र भएको सावित भयो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई कमजोर बनाउने, पार्टीभन्दा पदलोलुपतालाई प्राथमिकता दिने ईश्वर पोखरेल समूह आफ्नो मुद्धामा कमजोर सावित भईसके । अब, परिणाम स्वीकार गर्ने र पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने संकल्प गर्नुपर्छ ।
ओली विनाको एमाले र एमाले विनाको नेपाल बनाउने धेरैको सपना थियो । देशी विदेशीहरुको सपनालाई एमालेका प्रतिनिधिहरुले पुरा हुन दिएनन् । देशका लागि केपी ओलीको आवश्यकता रहेको यो महाधिवेशनको अर्को सन्देश हो । विदेशी प्रतिक्रियावादीहरु एमाले विनाको नेपाल चहान्छन् भने स्वदेशी षडयन्त्रकारीहरु केपी शर्मा ओली विनाको एमाले चहान्छन् । महाधिवेशन आसपास सामाजिक सञ्जालमा ओलीविरुद्ध ककसले भ्रम फैल्यायो भनेर हेर्दा विदेश प्रतिक्रियावादीको पहिचान सजिलो हुनेछ । ति सबैका सपना तृहिएको छ ।
एमालेभित्र रहेको एउटा सानो समूहले पनि ओली विनाको एमाले चाहेको थियो । त्यसलाई पनि पनि प्रतिनिधिले नै खारेज गरे । त्यो समूहलाई पनि ओलीको आवश्यकता पार्टीमा रहेको सन्देश राम्रैसँग दिएका छन् । ओलीलाई एमालेका ७५ प्रतिशत प्रतिनिधिहरुले अनुमोदन गरिसके । अब महाधिवेशन अघिको मुद्धा बोकेर हिड्नु व्यर्थ छ । बरु, ति मुद्धा किन बेठिक सावित भयो भन्ने तर्फ समिक्षा जरुरी छ । फेरि त्यहि मुद्धा बोकेर अघि बढ्नु राजनीतिक सन्देश पनि जाँदैन । पार्टी विभाजनका लागि मलजल गर्नु राम्रो होइन ।
पार्टीमा चरम गुट गर्ने, महाधिवेशनको परिणाम अस्वीकार गर्ने र विरोधीहरुले बालेको आगोमा घ्यू थप्ने काम बन्द हुनुपर्छ । पाँच वर्ष एमाले चलाउने म्याण्डेड महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली दिएको छ । त्यसमा आम नेता कार्यकताले साथ दिने हो । रचनात्मक खवरदारी गर्ने हो । महाधिवेशनको परिणामलाई एक हप्ता पनि स्वीकार गर्न नसक्ने नेताबाट एमालेको भविष्य राम्रो हुन सक्दैन । त्यसैले प्रतिनिधिहरुलाई बेलैमा सचेत भएकोमा धन्यवाद नदिइरहन सकिन्न ।
निर्वाचनको मत परिणाम सार्वजनिक भइसकेपछि ईश्वर पोखरेल सपथ लगायतका कार्यक्रमहरुमा सहभागी भएनन् ।
कतिले भन्न सक्छन्, निम्तो दिइएन । त्यो समय निमन्त्रणा दिएर बोलाउने समय होइन । परिणामलाई स्वीकार गर्दै विजयीलाई बधाई दिन स्वयम सहभागी हुने हो । कार्यकर्ताका सामुन्ने राजनीतिक संस्कार देखाउने हो । आफ्नो पक्षमा परिणाम नदेखिएपछि लुसुक्क हिड्नुलाई राजनीतिक अभ्यास मान्न सकिन्न । त्यसपछि कार्की बैंक्वेटमा भएको भेलाले थप अराजनीतिक अभ्यासको थालनी भएको महसुस भयो । आफुहरुले उठाएको मुद्धा नै अस्वीकृत भए पछि गुटगत भेला, दुई लाइन संघर्ष पार्टी स्वभाविक रुपमा अस्वीकार्य छ । त्यो पार्टी हीतमा हुने छैन । त्यसले पनि एमाले विनाको नेपाल भन्नेलाई नै मलजल हुनेछ । त्यसतर्फ पार्टीमा जीवनभर योगदान गर्नुभएका नेताहरुलाई थाहा छ ।
नेता नेतृत्व खुइल्याउने र पार्टीको पक्षमा परिणाम ल्याउने संभावना छैन । देश यस्तो संकटको समयमा गुज्रिएको छ । देशलाई निकाश दिनुछ । देशको जिम्मेवार पार्टी हुनुको नाताले एमाले त्यो भूमिकामा छ । एमाले देशलाई निकाश दिने काममा लाग्नुपर्ने बेला फेरि आन्तरिक लढाईमै लागिरहने हो भने पार्टी कमजोर बन्छ, देशले निकास पाउन सक्दैन ।
त्यसैले अबको एमाले बलियो एकतासहित अघि बढ्नुपर्छ । जनतामा बढ्दो निराशालाई चिर्दै देशलाई निकाश दिन आवश्यक छ । त्यसमा ईश्वर पोखरेलको साथ र सहयोगको खाँचो छ । गुटबन्दी बन्द हुनुपर्छ । पार्टीको नेतृत्वलाई सहयोग गर्नुपर्छ । अध्यक्ष ओलीको नेतृत्वमा थप बलियो एमाले बनाउनुपर्छ । जनताको भरासोको पार्टी बनाउन सहयोग गर्नुपर्छ ।
अहिले एमाले विरोधी अभियान चलाउदा सानोतिनो नेता बन्न सकिन्छ भने भाष्य स्थापित भइरहेको छ । अझ, केपी शर्मा ओली विरुद्ध अभिव्यक्ति दिन सकियो भने नेता नै बन्न सकिन्छ भन्ने बुझाई बन्दै गइरहेको छ । त्यहिबाटमा कोहि पनि प्ररित बन्न हुदैन । समृद्ध नेपाल, सुखी नेपालीको अभिभारालाई पुरा गर्न महाधिवेशन दिएको जनादेशको कार्यान्वयन नै अन्तिम विकल्प हो । महाधिवेशनले सबैखाले गुट, मतभेद, आन्तरिक द्वन्द्वलाई समेत अस्वीर गरिसकेको छ ।







प्रतिक्रिया