फादर जगत बहादुर वाग्ले
हामी अहिले ख्रीष्टमसको सिजनमा छौ । ख्रीष्टमस भनेको के हो ? ख्रीष्टमस भनेको हामी मानव जातिको नाममा आउनु हुने उद्धारकर्ता प्रभु येसुको नाउमा भेला भई खुशीहरु साटासाट गर्नु र ख्रीष्टले दिनुभएको उद्धारको घोषणा गर्नु नै साँचो ख्रिष्टमस हो । ख्रिष्ट भन्नाले उद्धारकर्ता हुन्छ । मस भन्नाले ख्रीष्टको जन्मको आधारमा मनाईने खुशीयाली वा आनन्द हो । यसैया ७ः१४ अनुसार ख्रीष्टलाई आज संसारमा दुई तरिकाबाट बुझ्न सक्छौ । पहिलो ख्रीष्टमसको अर्थ उद्धारकर्ता र मसको अर्थ पुजा वा प्रार्थना भन्ने हुन्छ । दोस्रो एक्समसको अर्थ हाम्रो पापको लागि बलिहुने मुक्तिदाताको सम्झनामा आनन्द मनाउनु भन्ने पनि हुन्छ ।

ख्रिष्टमस कहाँ र कसरी सुरु भयो त ? ख्रीष्टमस मनाउने बारेमा पबित्र बाईबलमा महिना गते तारिक कहि पनि उल्लेख भएको छैन । यो उल्लेख नभएता पनि एडी ३२५ मा रोमको सम्राट कनस्टानटाइन ग्रेडले बाईबल विद्धान बैज्ञानिक र ज्ञानी मानिसहरुलाई ख्रीष्टमसको खास सिजन पत्ता लगाउन लगाउँछन् र वैज्ञानिक र बाईबल बिद्धानहरुले खास अनुसन्धान गरी डिसेम्बर महिनाको अन्तिम हप्ता देखी जनवरीको पहिलो हप्तासम्म पर्दछ भनि भनेपछि डिसेम्बर २५ तारिक मनाउने हुकुम सम्राटले दिए । त्यो समयदेखी आजसम्म विश्वका हरेक राष्ट्रहरुले सोही मितिमा मनाउदै आएका छन् । ख्रीष्टमसको सुरुवात यसरी भएको पाउछौ ।
यो ख्रीष्टमस वडादिन विश्वको उच्च शिक्षा र उन्नतशिल देशहरुमा गौरवको इतिहास भई उनीहरुका लागि सामान्य भईसकेको छ । तर हामी नेपालीहरु २१ औं शताब्दीमा आईपुग्दा पनि ख्रीष्टमसको बारेमा धेरैलाई थाहा छैन । संसारमा ठुला ठुला सन्त महन्त साधु सन्यासीहरु यो धर्तीमा आए र उनीहरुले ज्ञान बाँढे । तर येशुले हाम्रो लागि आफ्नो ज्यू–ज्यान नै दिनुभयो । उहाँ हाम्रो पाप प्रयाश्चितको लागि रगताम्मै हुनुभयो । जब तपाई परमेश्वरको बचन पढ्नुहुन्न तब तपाईले आफ्नो पापलाई देख्न सक्नुहुन्न ।
परमेश्वरले परापूर्वकालमा हाम्रा पिता पुर्खासँग बातचित गर्नुभयो । यो संसारमा ठुला–ठुला सन्त महन्त साधु सन्यासीहरुले हामीसँग भेट हुँदा भन्नुहुन्छ । हामीले कुनै पाप गरेका छैनौ । हामी धर्मी छौ , तर पबित्र बाईबलको पवित्र बचनले भन्दछ सबैले पाप गरेका छन् । हामीलाई हाम्रो पापले वरिपरीबाट घेरेको छ । हामी सबैले पाप गरेका छौ । हाम्रो पापको प्रयाश्चितको लागि येशुले यो धरतीमा जन्मलिनुभएको हो । यसकारणले उहाँको जन्मको खुशीयालीमा ख्रीष्टमा विश्वास गर्नेहरुले येशुको जन्म उत्सव मनाउछन् । जसरी हामी पनि यहाँ मनाउदै आएका छौं ।
ख्रीष्टमस भनेको स्वर्ग र पृथ्वीको बीचमा मानव जाति र परमेश्वरको बीचमा पापको कारणले बिग्रेको सम्बन्धलाई बनाउनु र परमेश्वरसँग पुन सम्बन्ध स्थापित गर्नु हो । हामीले अन्धकार र अन्धविश्वासलाई त्यागेर साँचो ज्योति र सत्यज्ञानमा आउनु हो । येशु मानवरुप धारण गरी इज्रायलको बेतलेहेम भन्ने गाँउमा जन्मनु भएको थियो । ख्रिष्टमसको अर्थ नै हामी पापी मानिससहरुलाई उद्धार गरी हामीले हराएको स्वर्गलाई भेटाईदिनु हो ।
ख्रिष्टमसले हामीलाई हामीले मान्दै आएको मिति एडी र बिसीले पनि पक्का र अकाट्य बनाउछ । यसैया ६१ः१ र २ पदमा पाउछौ । हामी सबैले लेख्ने कागजमा मिति लेख्ने गर्दछौ । यस कार्यले हामीले जानी वा नजानी ख्रिष्टको जन्मको घोषण गरिरहेका हुन्छौ । हामीले कागजमा लेखेको मितिको बारेमा कहिल्यै सोचेका छौ ? के अब तपाई यस्तो महत्वपुर्ण बिषयको बारेमा जान्न चहानुहुन्न ? चहानु हुन्छ भने तपाईलाई मौका छ ।
ख्रिष्टको जन्म उत्सवमा म सम्पूर्ण मानव जातिलाई स्वागत गर्न चहान्छु । अहिले हामी ख्रिष्ट जन्मको शुभ अवसरमा, हामीहरु यो घरमा भेला भई प्रेम, शान्ति, र आशाको सन्देश ग्रहण गर्न लागेका छौ । यूहुन्ना ३ः१६ “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् ।”
यी विशेष दिनहरू उत्सवको दिन मात्र नभई, हाम्रो जीवनमा प्रभु येशू ख्रिष्टले ल्याउनुभएको उज्यालोलाई सम्झने समय पनि हो । येसु ख्रिष्टको जन्म संसारका सबै मानिसको लागि परमेश्वरको अनमोल उपहार हो । येशुले हामीलाई प्रेम गर्न, क्षमा गर्न र सबैको सेवा गर्न सिकाउनुभयो ।
यो ख्रिष्टमसको सन्देशद्वारा हामी सबैले मिलेर यस्तो जीवन जिउँ, जसले अरूलाई प्रेरणा देओस् र सबैमा खुशी ल्याओस् । लुका २ः १४ “सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”
आउनुहोस्, हामी सबैले साँचो प्रेम र सेवाको भावना लिएर एकअर्काको हात समातौं र शान्ति र आशाको नयाँ बाटो खोजौं । यसैया ९ः६–७ “किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ ।
शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तििका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ ।”
ख्रिष्टमस भनेको एउटा चाडपर्व मात्र होइन, ख्रिष्टमस भनेको प्रेम, आशा, र शान्तिको सन्देश हो । यो दिन संसारका लागि प्रभु येशू ख्रिष्टको जन्म भएको दिन हो । येशूले मानवजातिलाई प्रेम गर्न, क्षमा दिन र एकअर्काको सेवा गर्न सिकाउनुभयो । उहाँले संसारका सबै मानिसलाई स्वर्गीय सन्देश दिनुभयो ।
प्रेमले सबै कठिनाई जित्न सक्छ । शान्ति स्थापना भनेको तल्लो र माथिल्लो भेदभाव मेटाउनु हो ।
आशा राख्नु भनेको जीवनको कठिनाइमा पनि उज्यालो खोज्नु हो । ख्रिष्टमसको मुख्य कुरा भनेको धर्म होइन, तर सबैलाई एकसाथ ल्याउने परमेश्वरको धार्मिकता र अनमोल प्रेम हो ।
यतिबेला हामीले सोच्नुपर्छ, के म अरूलाई प्रेम गर्न, क्षमा गर्न र सेवा गर्न खोजिरहेको छु ? ख्रिष्टमस भनेको हाम्रो जीवनलाई उज्यालोले भर्ने अवसर हो, जसले हामीलाई साँचो खुशी र आनन्द दिन्छ । म तपाईंलाई यो ख्रिष्टमसको बारेमा एकपल्ट येशूको आनन्द, प्रेम र शान्तिको बारेमा सोच्न प्रोत्साहित गर्दछु । ख्रिष्टले तपाईंलाई विशेष रूपमा माया गर्नुहुन्छ, उहाँको त्यो निःस्वार्थ मायालाई कसैले पनि नलत्याउनुहोस् ।
म तपाईँ र तपाईँको परिवारलाई ख्रिष्टजन्मको हार्दिक शुभकामना दिन्छु । परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको होस् । ख्रिष्टको जन्मले तपाईंको जीवनमा प्रेम, शान्ति, आशा र उद्धारको उज्यालो भरियोस् । ख्रिष्टमसको हार्दिक शुभकामना । ह्याप्पी ख्रिष्टमस ।
(लेखक यरुशलेम बिलिभर्स इस्टर्न चर्च भद्रपुरका फादर हुनुहुन्छ ।)







प्रतिक्रिया