बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रतिष्पर्धा आज हुँदैछ । सहिद नेत्र पार्कको खेल मैदानमा हुने फाइनल प्रतिष्पर्धा रोमाञ्चक बन्ने अपेक्षा दर्शकको छ ।
उपाधिका लागि वडा नं. १० र वडा नं. ३ प्रतिष्पर्धा गर्दैछन् । ठिक १ बजे सुरु हुुने फाइनल भिडन्तका लागि दुबै टिम तयार रहेका छन् । बिर्तामोड–१० ले क्वाटर फाइनलमा वडा नं. २ लाई ५–०, सेमिफाइनलमा वडा नं. ७ लाई ३–१ गोल अन्तरले हराउदै फाइनलमा स्थान पक्का गरेको हो ।

वडा नं. ३ ले पहिलो चरणमा वडा नं. ८ लाई ८–१ ले हरायो । ३ ले क्वाटरफाइनलमा वडा नं. ९ लाई ४–१ ले र सेमिफाइनलमा वडा नं. ५ लाई सडन डेथमा पराजित गरेको थियो ।
प्रतियोगितामा सर्वाधिक ९ गोल गरेका वडा नं. ३ का स्ट्राइकर आशिष चापागाईं टिमलाई उपाधि दिलाएर आफू प्रतियोगिताको उत्कृष्ट खेलाडिका रुपमा प्रमाणित हुने दाउमा छन् । तर, खेल अवधिमा उनले संयमित भएर प्रदर्शन गर्न जरुरी छ ।
वडा नं. १० को पनि टिम सेट भएका कारण उपाधिको प्रबल दावेदार मानिएको छ । डिफेन्डिङ च्याम्पियन १० यो पटक पनि उपाधि रक्षा गर्ने योजनामा रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगिता भरीको एकजना उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट गोल किपर र उत्कृष्ट मिडफिल्डलाई जनही नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलअघि वडा स्तरीय भेट्रान्स फुटबलको पनि फाइनल हुदैछ । फाइनलमा उपाधिका लागि वडा नं. ५ र वडा नं. १० प्रतिष्पर्धा गर्ने छन् ।
भेट्रान्स फुटबलको बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । वडा स्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा नगरका ८ वडा वडाका खेलाडीको सहभागिता रहेको सचिव विसन लिम्बूले जानकारी दिए ।







प्रतिक्रिया