शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
सोही अन्तर्गत मंगलबार शिवसताक्षी – ११ दूधे उत्तर घुम्ति शिविर गर्दै सदस्य विस्तारसँगै सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको संस्थाले जनाएको छ ।

सहकारी शिक्षा कार्यक्रममा वित्तीय कारोबार र सहकारीको परिभाषा र आधारभूत सिद्धान्तहरू, सहकारीसँग सम्बन्धित कानुन तथा नीतिहरू, आर्थिक तथा वित्तीय व्यवस्थापनलगायत विषयहरुमा सदस्यहरुलाई शिक्षा प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले बताउनुभयो । उहाँले संस्थाले टोल–टोलमा सदस्यहरुलाई भेला गरी नयाँ सदस्य विस्तार सदस्य शिक्षा प्रदान गर्दै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा सहकारी भनेको के हो, यसको ऐतिहासिक विकास, उद्देश्य, तथा समाज र आर्थिक विकासमा सहकारीको भूमिकाबारे विस्तृत रूपमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहकारीकी लेखा संयोजक चन्द्रकला पोख्रेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमसञ्चालक समिति सदस्य मित्रप्रसाद थापाको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा २० जना सहकारी सदस्यहरूको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार यसअघि पनि चन्द्रडाँगी, बाहिसविघे लगायतका विभिन्न क्षेत्रहरूमा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिसकिएको छ । संस्थाले आगामी दिनमा पनि सहकारी सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय अनुशासन र संस्थागत मजबुतीका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।







प्रतिक्रिया