बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा बन्दैछ प्रदेशकै नमूना बस्ती

बिर्तामोड । विपन्न परिवारका लागि विर्तामोड नगरपालिकाले प्रदेश गौरव योजना अन्तर्गत आवास निर्माण गरिरहेको छ ।
पुस महिनामा हस्तान्तरण गर्ने गरी नगरपालिकाले विर्तामोड–७ मा ३७ वटा आवास निर्माण गरिरहेको विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिए । आवास विहीन विपन्न परिवार, सन्थाल र चौधरी समुदायलाई लक्षित गरी आवास निर्माण गरिरहेको शिवाकाटीले इजलाससित बताए ।

गत वर्षको फागुन महिनाबाट निर्माण शुरु भएको आवासको ६० प्रतिशत काम सकिएको छ । सुविधा सम्पन्न खानेपानी, शौचालय सहितको आवास प्रदेश १ कै नमूना बस्तीको रुपमा निर्माण भइरहेको निर्माण समितिका सचिव अविरल कृष्ण खरेलले जानकारी दिए । उनका अनुसार १ विगाह ३ कठ्ठा क्षेत्रफलमा बस्ती निर्माण भइरहेको छ ।

हर्चना टुनटुनबारी नमूना आवास निर्माण उपभोक्ता समितिले बस्ती बनाइरहेको छ । बस्ती विर्तामोड नगरपालिका र ह्याविट्याट फर ह्यूम्यानिटी नेपालको साझेदारीमा निर्माण भइरहेको छ । नमूना वस्ती निर्माणका लागि धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला श्रेष्ठले जग्गा सहयोग गरेको खरेलले जानकारी दिए ।

एउटा घर निर्माणमा चार लाख खर्च हुने ह्याविट्याटका नसिम सरवरले जानकारी दिए । हरेक घर निर्माणमा १० प्रतिशत श्रमदान हुने छ । सुलभ मुल्यमा निर्माण भइरहेको आवासमा बाँसको धेरै प्रयोग गरिएको छ । बाँसबाटै निर्माण गरिने घरको भित्ता भने प्लस्तर गरिने छ । हरेक घरका लागि शौचालय र खानेपानीको उचित प्रवन्ध गरिएको सरवरको भनाई छ । उनका अनुसार सो नमूना वस्तीमा सामुदायिक भवन र बाल उधान समेत रहनेछ ।

घर निर्माणमा प्रयोग गरिएका बाँसको उपचार गरिएको छ । उपचारका कारण घर सुरक्षित र टिकाउन हुने उनको भनाई छ । विर्तामोड नगरपालिकाले नगरभित्र रहेका गरिव, विपन्नहरुलाई आवास विहीन बन्न नदिने उदेश्यले गत वर्षबाट आवास निर्माणको काम शुरु गरेको हो । विभिन्न चरणमा नगरपालिकाले आवास उपलब्ध गराइरहेको प्रशासन विभागका प्रमुख देवराज कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]