बैशाख १८, २०८१ मंगलबार

गाउँले होटलका सञ्चालक मृत्यु प्रकरण : भान्जाले आत्महत्या दुरुत्साहन गरेको कसुर ठहर

बिर्तामोड । झापा जिल्ला अदालतले बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको आत्महत्या दुरुत्साहन कै कारण भएको ठहर गरेको छ । पूर्पक्षका लागि थुनामा गएका हेटौडा उपमहानगर–५ घर भई झापा अर्जुनधारा–५ बस्दै आएका नारायण खड्कामाथि लागेको दुरुत्साहन मुद्धामा कसुर ठहर भएको झापा जिल्ला अदालतका शाखा अधिकृत नवराज पोखरेलले जानकारी दिए ।

०७७ चैत २२ गते मेचीनगर–१३ स्थित चारआली जंगलमा निरौलाको शव फेला परेको थियो । होटल व्यवसायीको रहस्यमय मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि दुई जनालाई तत्कालै नियन्त्रणमा लिएको थियो । सो घटनामा कसुर ठहरिएका खड्का र सिन्धुपाल्चोक घर भई अर्जुनधारा–५ बस्दै आएका भरत दंगालले अपहरणपछि हत्या गरेको आरोप लागेको थियो । जिल्ला अदालतले दंगाललाई सफाई दिएको अधिकृत पोखरेलले जानकारी दिए । दुवै जना निरौलाका व्यापारीक पार्टनर हुन् । कसुर ठहरिएका व्यक्ति सम्बन्धले भान्जा भएको बुझिएको छ ।

शाखा अधिकृत पोखरेलका अनुसार खड्काले आत्महत्या दुरुत्साहन गरेको कसुर ठहरिएको छ । मंसिर २९ गते कति सजाय हुने भन्ने फैसलाका लागि पेशी तोकिएको छ । त्यो दिनको फैसला नै अन्तिम हो, पोखरेलले भने– ‘त्यै दिन थाहा हुन्छ । कति सजाय हुने भन्ने कुरा ।’
प्रहरीले होटल सञ्चालक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा दुवै जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको थियो । घटना भएको २४ औं दिनमा प्रहरीले बुझाएको प्रतिवेदनमा अपहरणपछि हत्या भएको उल्लेख थिएन । प्रहरीले दुवै जनाले दुरुत्साहन गरेको भनेपनि अदालतले एक जनालाई सफाई दिएको छ ।

निरौला २० गते दिउँसो घरबाट हिडेका थिए । प्रहरीका अनुसार उनले बोकेको मोवाइल सोहि दिन ४ बजेर ४७ मिनेटमा अफ भएको थियो । प्रहरीले निरौला मृत भेटिएको ठाउँमा किटनाषक औषधिको वोतल र दुई पेजमा लेखिएको चिट भेट्टाएको थियो । चिटमा १२ जनाभन्दा बढि व्यक्तिको नाम लेखिएको, प्रहरीले प्रतिवेदनमा खुलाएका थिए । चिटमा नाम उल्लेख गरिएका व्यक्तिका कारण मृत्यू रोजेको भन्दै लेखिएको प्रहरीको भनाइ छ । प्रहरीले निरौला घरबाट हिडेको दिन चारआली चोकबाट मोटरसाइकलमा पश्चिमतर्फ लागेको सीसी क्यामेरामा पत्ता लगाएको थियो । उनीहरु बिचमा जग्गाको ठुलो कारोवार भएको बुझिएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार  ६ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]