बैशाख १२, २०८१ बुधबार

अर्जुनधारामा गठबन्धनको असर शून्य : खड्गमाया पराजुली

खड्गमाया पराजुली अर्थात् इन्दिरा । यो नाम अर्जुनधाराबासीका लागि कुनै नौलो नाम होइन । अर्जुनधारा नगरपालिका बन्नु अघि खुदुनाबारी छुट्टै गाविस थियो । खुदुनाबारी गाविस र शनिअर्जुन नगरपालिका गाभिएर अर्जुनधारा नगरपालिका बनेको हो ।
स्थानीय तहको पहिलो निर्वाचन अघि पराजुली खुदुनाबारी क्षेत्रमा मात्रै लोकप्रिय महिला हुनुहुन्थ्यो । अखिल नेपाल महिला संघ र पार्टीको स्थानीय जिम्मेवारीहरू सम्हाल्दै सामाजिक क्षेत्रमा समेत उत्तिकै रुचि एवं सक्रियता देखाउने भएकोले उहाँ खुदुनाबारीको अगुवा महिलामा गन्तिमा आउन थाल्नुभएको हो । अभियान नेपाल नामक संस्थाको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभए पछि उहाँको परिचय फराकिलो बन्दै गयो ।

०७४ सालको स्थानीय निर्वाचनमा उहाँ नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिका वडा–२ को वडा सदस्य मात्र बन्नुभएन, पार्टीले उहाँलाई नगरपालिकाको न्यायिक समिति सदस्यको जिम्मेवारी समेत दियो । यसपछि त खड्गमाया पराजुली अर्जुनधारामा अन्यायमा परेका, समस्यामा परेका नागरिकहरूको साथी बन्न थाल्नुभयो । न्यायिक समिति सदस्यको जिम्मेवारी उहाँले जुन कुशलतापूर्वक वहन गर्नुभयो, त्यसैले उहाँलाई अर्जुनधारामा राम्रो सम्भावना बोवmेको महिला नेतृको रूपमा चिनायो ।

हाम्रो स्वावलम्बी सामाजिक उद्यमी सहकारी संस्थामा हाल दोस्रो कार्यकालको लागि अध्यक्ष रहनुभएको पराजुलीले सहकारी, स्वावलम्बन, स्वरोजगार, सशक्तीकरण जस्ता विषयमा अनुभव हासिल गर्नुभएको छ । विनम्र तर जिज्ञासु स्वभावको कारण उहाँ जस्तोसुकै समूहमा पनि अरूलाई आकर्षण गर्ने क्षमता राख्नुहुन्छ ।

आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अर्जुनधारा नगरपालिकाको लागि खड्गमाया उपमेयर पदका लागि नेकपा एमालेको उम्मेदवार हुनुहुन्छ । एमालेमा उहाँ बाहेक अरू पनि उपमेयर पदका आकांक्षीहरू हुनुहुन्थ्यो । हाल अनेमसंघ नगर कमिटी सचिव रहनुभएको पराजुली सांगठनिक जिम्मेवारीका हिसाबले आकांक्षीहरूमध्ये लो प्रोफाइलको कार्यकर्ता हुनुहुन्छ । हालसम्मका जिम्मेवारीहरूमा उत्कृष्ट कार्यसम्पादनकै कारण उहाँ सबै कार्यकर्ताहरू, नेतृत्व र अन्य आकांक्षीहरू समेतका लागि स्वीकार्य बन्न सफल हुनुभयो । उनै खड्गमाया पराजुलीसँग पत्रकार सागर गौतमले स्थानीय निर्वाचनकै सन्दर्भमा कुराकानी गर्नुभएको छ ।

१, निर्वाचन प्रचार अभियानमै हुनुहुन्छ । मतदाताहरूको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको छु । अर्जुनधारामा हाम्रो सिङ्गो पार्टी पङ्क्ति मात्र होइन आम मतदाताको तहमा पनि हाम्रो पार्टीको पक्षमा व्यापक उत्साह देखेको छु । जन लहर देखेको छु । युवा, प्रौढ, वृद्ध, महिला सबैमा यस्तो उत्साह उत्तिकै व्यापक पाएको छु । यो उत्साह र जनलहर निर्वाचनमा हाम्रो विजय सुनिश्चितताको आधार हो भन्ने लागेको छ ।

२, गठबन्धनलाई परास्त गर्न त चुनौति नै होला नि ?
अर्जुनधारामा एमालेको उचाइ जुनसुकै गठबन्धन भन्दा माथि छ । अर्को कुरा, हामीसँग प्रतिस्पर्धा गर्न भनेर आएको गठबन्धन कुनै विचार, कार्यक्रम, उद्देश्य, गन्तव्य सहित आएको नभएर एमालेको सुदृढ शक्ति विरूद्ध उम्मेदवारहरूको मिलिजुली पदसोपान मात्र हो भन्ने मतदाताले राम्ररी बुझ्नु भएकै छ । वैशाख ३० गतेसम्म कायम रहने यो मिलिजुली पदसोपानले अर्जुनधारामा सुशासन, विकास र समृद्धिको हाम्रो अभियानलाई जनस्तरबाट अनुमोदन गराउन निर्वाचनमा होमिएका हामीलाई कुनै असर गर्दैन ।

३, परिणामप्रति यति बढी ढुक्क हुनुहुन्छ ?
हामी प्रचार–प्रसारको अभियानमा छौं । तर मतदाताहरू विजय ¥यालीको मानसिकतामा हुनुहुन्छ । उहाँहरू उत्सव मनाउनका लागि वैशाख ३० पर्खने धैर्य गरिरहनु भएकै छैन । यसपटक नगरपालिकाको कार्यपालिका बैठक र नगरसभामा एमाले मात्र हुने देख्छु । तर हामी प्रतिपक्षको भावनालाई समेत समेटेर काम गर्नेछौं । नगरपालिकाको कामहरूमा सबै दलहरूको अपनत्व हुने गरी काम गर्नेछौं ।

४, एमालेले नै जित्ने आधारहरू के–के हुन् ?
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा एमालेको वा केपी शर्मा ओलीको मात्रै नभएर आम नेपालीको साझा आकांक्षा हो । सुशासन र विकास एमालेको अगुवाइमा मात्र सम्भव छ भन्ने मतदाताहरूले बुझ्नु भएकै छ । अर्जुनधारा सचेत मतदाताहरू भएको नगरपालिका हो । सबै वडाहरूमा हाम्रा उम्मेदवारहरू अत्यन्तै लोकप्रिय हुनुहुन्छ । निर्वाचन जनताको हामी माथिको भरोसालाई नवीकरण गर्ने अवसर हो । विगतमा एमाले नेतृत्वका तीनै तहका सरकारहरूले गरेका कामहरूको कारण पनि हामी भारी मतका साथ निर्वाचित हुँदैछौं ।

५, उपमेयरमा तपाईंकै उम्मेदवारी चैं केका लागि ?
कानुनले मेयरको अनुपस्थितिमा निजले गर्ने कामहरू गर्ने मात्रै जिम्मेवारी उपमेयरलाई दिएको नभएर स्थानीय सरकारमा योजना, नीति तथा कार्यक्रम र बजेट निर्माण, न्याय सम्पादन, अनुगमन लगायतका विषयहरूमा उपमेयरका थुप्रै कार्यकारी भूमिकाहरू हुन्छन् । मैले पाँच वर्ष न्यायिक समितिको सदस्य भएर काम गरेको छु । जनप्रतिनिधिको रूपमा योजना, निर्माण र कार्यान्वयनका अनुभवहरू हासिल गरेको छु । सामाजिक संस्थाहरू र सहकारीमा काम गर्दा यहाँका समस्याहरू र सम्भावनाहरूलाई नजिकबाट नियाल्ने मौका पाएको छु । यसकारण उपमेयरको जिम्मेवारी मेरो लागि नौलो अनुभवको विषय बन्ने छैन । यसैकारणले पनि पार्टीले मलाई अगाडि बढाएको होला भन्ने ठानेको छु ।

अर्को विषय चैं म राज्यका हरेक तह र निकायहरूमा महिलाहरूको सहभागिता मात्रै नभएर अर्थपूर्ण सहभागिता हुनुपर्छ भन्ने मान्यता राख्छु जुन सहभागिताले कानुनतः हामीले पाएको अधिकारको सार्थक प्रयोग हुन सकोस् । महिलाहरूको सार्थक प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको लागि पनि मेरो उम्मेदवारी हो । म अर्जुनधारा बुझेको महिला हुँ । अर्जुनधारा बुझेको कारण अर्जुनधारालाई बदल्ने र समृद्ध बनाउने काममा योगदान पु¥याउन सक्छु ।

६, महिला सहभागिताको कुरा उठाउनुभयो । तपाईंको विपक्षी गठबन्धनले त प्रमुख पदमा नै महिला उम्मेदवार खडा गरेको छ नि ?
हाम्रो पार्टीले झापाका तीनवटा पालिकाहरूमा हिजो उपमेयर-उपाध्यक्ष जित्नुभएका महिलाहरूलाई यस पटक प्रमुख पदमा उम्मेदवार बनाएको छ । देशभरमा सबैभन्दा बढी महिला उम्मेदवारहरू अगाडि बढाउने दल पनि नेकपा एमाले नै हो । यस पटक स्थानीय सरकारहरूको प्रमुख पदमा हाम्रै पार्टीको कारण महिलाहरूको सहभागितामा वृद्धि हुने देखिएको छ । तर आफूले जित्ने बलियो आधार भएको स्थानमा मौका नदिएर कमजोर स्थानहरूमा प्रमुख पदमा महिला उम्मेदवार खडा गरी महिला उम्मेदवारको संख्या मात्रै देखाउने समस्या पितृसत्तावादकै उपज हो । कमजोर जनाधार भएको ठाउँमा महिला उम्मेदवारी दिएर एकातिर महिला प्रतिनिधित्व गराउन खोजेको देखाउने र अर्कोतिर महिलाहरूले जित्न सक्दैनन् भनेर पुष्टि गराउन खोज्ने यो तरिका बेठिक हो । हामीले प्रतिनिधिसभामा महिला सांसद निर्वाचित गरिसकेका छौं । झापाकै अन्य पालिकामा जस्तै अर्जुनधारामा पनि महिला मेयर एमालेले नै बनाउँछ ।

७, अन्त्यमा केही भन्नुहुन्छ ?
म सम्पूर्ण अर्जुनधाराबासी आमाबुबा, दिदी बहिनी तथा दाजुभाइहरूलाई आसन्न स्थानीय तहको निर्वाचनमा कुनै किसिमको भ्रम, प्रलोभनमा नपरी सूर्य चिह्नमा मतदान गरेर एमालेका सबै उम्मेदवारहरूलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्छु । तपाईंको घर छेउको सिंहदरबारले पाँच वर्ष तपाईं माथि शासन होइन तपाईंको सेवा गर्नेछ भन्ने प्रतिबद्धता समेत जाहेर गर्दछु । हाम्रो प्रचार अभियानमा उत्साहसाथ सहभागी पार्टी नेता तथा कार्यकर्ता र मतदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]