शनिश्चरे – अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघद्वारा शुक्रबार कार्यालय परिसरमा आयोजित साधारणसभाले विधान संशोधन सम्बन्धि प्रस्ताव , मृत्यु सहयोग कार्यविधि मस्यौदा जस्ता प्रस्तावहरु पारित गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाका अध्यक्ष हरिभक्त बरालले ऐतिहासिक पृष्ठभूमिसहित वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार वि .स . २०५५ सालमा संस्था स्थापना भई जिल्ला प्रशासन कार्यालयबाट विधिवत रुपमा आधिकारिकता पाई स्थापना काल देखि सेवा नै धर्म हो भन्ने मुल नारा साथ संस्थाले समाजसेवा ( मरीमराउ हुदा सहयोग ) गर्दै आएको उल्लेख छ ।
संस्थाको नम्बरी २ बिगाहा १ कठ्ठा र ऐलानी ३ बिगाहा ८ कठ्ठा गरी जम्मा ५ बिगाहा ९ जग्गामा कार्यालय भवनसहित खेलमैदान रहेको छ । संस्थाले अर्जुनधारा नगरपालिकालाई भोगचलनका लागि खेलमैदान जमिन दिइसकेको हुदा नगरपालिकाले खेलमैदान स्तरोन्नति गर्नका लागि नगर स्तरीय रंगशाला निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै संस्थाका महासचिव कृष्णप्रसाद भट्टराईले आर्थिक वर्ष ०८२ / ०८३ आम्दानी १ लाख ७८ हजार ५ सय ६६ रुपैयाँ र खर्चतर्फ ८६ हजार ६ सय ९७ रुपैयाँ रहेको हिसाब विवरण प्रस्तुत गरेका थिए भने लेखा समितिको तर्फबाट संयोजक देवेन्द्र मैनालीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाप्रति निष्ठा रहि सेवाभाव,जिम्मेवारीबोध र रचनात्मक योगदान पुर्याउने निवर्तमान अध्यक्ष धर्मानन्द गुरागाँई , नि . वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने ,नि . उपाध्यक्ष राजन थापा नि . महासचिव मेदनी प्रसाद ढुंगेल , नि .सदस्यहरु देवका न्यौपाने , बबिता पोखरेल र सुरेश अधिकारीलाई प्रमाणपत्र प्रदान गरी रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।
त्यसैबीज संस्थाकी कलाकार अमृता चापागाईंले कालो टोपी ढल्काउँदै गीतको बोलमा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेकी थिइन् । अध्यक्ष बरालको सभापतित्व र महासचिव भट्टराईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडा, वरिष्ठ उपाध्यक्ष युवराज धिताल , अर्जुनधारा जलेश्वरधामका उपाध्यक्ष अम्बिका प्रसाद खतिवडा , सम्मानितहरु गुरागाँई र न्यौपाने , गाउँबेसीका प्रस्तोता चतुर्भुज काफ्ले लगायतले बोलेका थिए ।







प्रतिक्रिया