बैशाख १४, २०८१ शुक्रबार

बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान

झापा । नेपालको सहकारी अभियानका एक सिद्धहस्त अभियन्ता केशब बडाललाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बडाललाई एक लाख रुपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार यही चैत १५ गते संस्थाले आयोजना गर्ने रजत महोत्सव समारोहमा बडाललाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।

सहकारी अभियानका लागि प्रारम्भिक संस्थाहरुमध्ये सहाराले स्थापना गरेको उक्त पुरस्कार सर्वाधिक रहेको बताइएको छ । सहकारी तथा लघुवित्तका क्षेत्रमा काम गर्ने एक व्यक्तिलाई हरेक दुई वर्षमा प्रदान गर्ने गरी सहाराले स्थापना गरेको सो पुरस्कार दोस्रो पटक प्रदान गर्न लागेको हो ।
सहकारीका सबैजसो घटना र इतिहासका जानकार तथा सहकारीलाई किन अवलम्बन गर्ने जस्ता विषयमा धाराप्रवाह विचार मन्थन गर्न सक्ने क्षमता भएका बडाललाई ‘सहकारीका विश्वकोष’ उपमाले पनि चिन्ने गरिन्छ ।

तीन दशकदेखि सहकारी अभियानमा होमिएका बडालले प्रतिनिधि सभाको सदस्य रहँदा ‘सहकारी ऐन २०४८’ र संविधान सभाको सदस्य तथा व्यवस्थापिका संसदको सदस्य रहँदा ‘सहकारी ऐन २०७४’ निर्माणमा नेतृत्वदायी एवम् निर्णायक भूमिका खेलेका थिए ।

नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान गर्ने अथक एवम् प्राज्ञिक अभियन्ता बडालले सहकारी क्षेत्रलाई नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । समाजवाद उन्मुख लोकतान्त्रिक आर्थिक प्रणाली अवलम्बन गर्न प्रोत्साहित गर्दै राष्ट्रिय समृद्धिमा निरन्तर लागेका केशव बडाल सहकारी अभियानको छाता संस्था राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष हुन् । उनी २०६७ सालदेखि २०७६ पुषसम्म महासंघको अध्यक्ष रहेका थिए ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए)मा एशिया प्रशान्त क्षेत्रबाट सञ्चालक निर्वाचित भएर नेपालको सहकारी अभियानलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन बडालकै हात रहेको बताइन्छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आईतबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]