Banner news

भद्रपुर रोडको धुलोले स्थानीय ‘हत्तु’ : नीतिगत समस्याले अघि बढेन कालोपत्रे

भद्रपुर रोडको धुलोले स्थानीय ‘हत्तु’ : नीतिगत समस्याले अघि बढेन कालोपत्रे


बिर्तामोड । झापाको बिर्तामोडमा निर्माण भइरहेको भद्रपुर रोड क्षेत्र अस्तव्यस्त बनेको छ । कालोपत्रे निर्माणका लागि तयारी गरिएको बाटो लामो समयसम्म निर्माण सम्पन्न नहुँदा अस्तब्यस्त बनेको हो ।

पछिल्लो केहि महिनादेखि धुलोका कारण स्थानीयबासी ‘हत्तु’ भएका छन् । निर्माण व्यवसायीले धुलोबाट सुरक्षित राख्न कुनै विधि नअपनाएको सडक आसपासमा व्यवसाय गर्दै आएका व्यवसायीको आरोप छ ।

बिर्तामोडबासीले यथासक्य बाटो निर्माण गर्न आवाज नउठाउँदा निर्माण पक्षले तीब्र गतिमा काम गरिरहेको छैन । बिर्तामोड–भद्रपुर रोड निर्माणको जिम्मा पाएको कञ्चन निर्माण सेवासँगको म्याद सकिए पछि निर्माण कार्य ढिलाइ भइरहेको बुझिएको छ । कञ्चन निर्माण सेवाले कालोपत्रे सम्पन्न गर्न साउन २८ गते सम्मका लागि समय मागेको थियो । सोहि अनुसार सम्झौता भएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कञ्चन निर्माण सेवाले ०७६ साल पुसदेखि सम्झौता बमोजिम काम शुरु गरेको थियो ।

छ महिनाभित्र काम सक्ने योजनाका साथ सम्झौता गरिए पनि एक वर्षमा काम सकिएन । निर्माण कम्पनीका सञ्चालक केदार गिरीका अनुसार कोरोना महामारीका कारण समयमा काम नसकिएको हो । उनले भने, लकडाउनमा हिडडुलको समेत अवस्था नभए पछि कसरी काम गर्नु ? लकडाउनमा लामो समय काम रोकिए पछि समयमा निर्माण सम्पन्न गर्न नसकेको उनको तर्क छ । तर, शुरुमै १ वर्षको सम्झौता गर्न पाउँदा पाउँदै उनले ६ महिनाको मात्रै सम्झौता गरेका थिए ।

सम्झौता अनुसारको म्याद सकिए पछि निर्माणको काम लगभग रोकिएको छ । साउन महिनादेखि म्याद थप नहुँदा निर्माण पक्ष र सडक डिभिजनबिच कुरा मिलिरहेको छैन । निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नपाएको भन्दै म्याद थप गर्नुपर्ने माग गर्दै आएका छन् । म्याद सकिएपछि पनि व्यवसायीले सुस्त गतिमा काम गरिरहेका छन् । म्याद थप गर्न ठेक्का रकमका आधारमा जरिवाना तिनुपर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । यता, निर्माण व्यवसायी जरिवाना नतिर्ने पक्षमा छन् । नीतिले जरिवाना तिनुपर्ने , निर्माण व्यवसायी तिर्न नमान्ने विवादले सडक आसपासका नागरिकले प्रत्यक्ष असर भोग्नुपरेको छ ।

सडक निर्माण सुस्त भएपछि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले दुवै पक्षसँग ढिलाई हुनुको कारण खोजेका छन् । लकडाउनको समयभित्र म्याद सकिने आयोजनामा सरकारले नै समय थप गरिदिने व्यवस्था रहेको पोर्तेलले बताए । तर, कञ्चन निर्माण सेवाको सम्झौता समय लकडाउन खुलेपछि मात्रै सकिएको थियो । प्रमुख पोर्तेलले नीतिगत रुपमा समस्या देखिए पनि चाडोभन्दा चाडो काम सम्पन्न गर्नुको विकल्प नरहेको जानकारी दिए । उनले सडकमा देखिएको समस्याबारे भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसँग समेत कुराकानी गरेको बताए । मन्त्री नेम्बाङले म्याद थप गर्न नीतिगत व्यवस्थामा समस्या भएकाले मन्त्रीपरिषद्बाट निर्णय गर्नुपर्ने जानकारी दिएको पोर्तेलले बताए । उनले भने, मन्त्री ज्यूले देशभरका आयोजनाहरुमा लकडाउनका कारण उत्पन्न समस्याहरुको समाधानमा चासो दिनुभएको छ । बिर्तामोडको समस्या छिट्टै समाधान हुने विश्वाश गरिएको छ ।

म्याद थप नभई गरेको कामको भुक्तानी नपाउँदा गिरीले निर्माणको कामलाई तीब्रता दिएका छैनन् । नीतिगत व्यवस्था मिलाएरै भए निर्माणको काम गिरीलाई नै दिनुपर्ने हुन्छ । र, पाउने पनि उनैले हुन् । भुक्तानीका लागि दवाव स्वरुप उनले कामलाई तीब्रता नदिएको बुझिएको छ । गिरीले दशैअघिदेखि कालोपत्रे शुरु गर्ने भने पनि अहिलेसम्म शुरु हुन सकेको छैन ।

बिर्तामोडस्थित प्रदीप फार्मेसीका सञ्चालक प्रदीप खरेलले सडक निर्माण ढिलाई हुँदा धुलोको समस्याले हैरानी बनाएको बताए । उनले भने, धुलोले गर्दा बस्नै नसकिने भैसक्यो । कम्तिमा पानी हालेर भए पनि धुलोको समस्या समाधान गर्नुपर्छ । अन्य व्यवसायी भन्छन्, कालोपत्रे बन्दै थियो भने अलिअलि धुलो सहँदा हुन्थ्यो । तर, यस्तो अस्तब्यस्ततामा धुलो खाइरहन सक्दैनौं ।

शेयर गर्नुहोस :

0
Shares