प्रदीप परियार
बिर्तामोड । कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि वर्षभरी घरायसी काममा व्यस्त हुने गरेका छन् ।
पछिल्लो समय फेरि फुक्न हिड्ने जोगीहरुले असुरक्षा महसुस गर्न थालेका छन् । रातभर फेरी फुकेर विहान दान संकलन गर्ने जोगीहरु असुरक्षा महसुस गर्न थालेका हुन् । दशैैंको पूर्णिमाका दिन बिहान दान संकलन गर्दै हिडेका झापा खुदुनावारीका धनबहादुर जोगीले लागुऔषध सेवनकर्ताहरुबाट आफुहरु असुरक्षित हुने गरेको बताउँछन् । अर्जुनधारा –५ भाङवारीमा भेटिएका धनबहादुरले डरत्राससँगै फेरी लगाउन हिड्नु परेको सुनाउछन् । पहिले जंगली हात्तीको डर हुन्थ्यो, उनले भने – अहिले लागुऔषध सेवनकर्तासँग डर हुन्छ ।

धनबहादुरका अनुसार फेरी लगाउन रातको समयमा गाउँगाउँ हिड्नुपर्छ । लागुऔषध खानेले राती नै आक्रमण गर्छन् कि भन्ने त्रास छ । गाउँघरमा अहिले ढुक्क भएर फेरी लगाउन जाने अवस्था नरहेको उनी बताउँछन् । धुलेहरुबाट (लागुऔषध प्रयोगकर्ता) ज्यान जोगाउन मुस्किल छ, उनीहरुको केहि भरोसा हुदैन – उनले भने, कसरी रातीराती हिड्नु ? डरमर्दाे छ ।
अर्जुनधारामै यसै साता भएको एउटा घटनाको उदाहरण दिदैं उनले रातको समयमा हिड्न चुनौति थपिएको बताए । अर्जुनधारामा एक वृद्धलाई राती बञ्चरो प्रहार गरेर हत्या गरिएको थियो । सो घटनाले पनि आफूहरु थप असुरक्षित महसुस गरिरहेको बताए ।
राती १२ बजेदेखि विहान ४ बजेसम्म फेरी फुक्दै हिड्ने धनबहादुर कात्तिक महिना आफुहरुको मुख्य सिजन भएको बताउँछन् । कात्तिक र चैत महिना हिडेर वर्षभरीको अन्न जोहो गर्नुपर्ने उनको भनाई छ । काका काले जोगीसँगै हिड्ने उनले डरत्राससँगै दान संकलन गरेर वर्षभरीको अन्न जोहो गर्नुपर्ने बाध्यता रहेको सुनाए ।
आफ्ना पूर्खाहरुले गर्दै आएको कामलाई निरन्तरता दिन निकै कठिनाई भइरहेको काले जोगी बताउँछन् । सिक्किम दार्जिलिङमा लामो समय फेरी लगाएका उनले यहाँ दान संकलन समेत पर्याप्त नहुने गुनासो गरे । सिक्किम, दार्जिलिङमा जस्तो दान यहाँ हुदैन, उनले भने – कात्तिक र चैतमा अरुबेला भन्दा ठिकैठिकै दान हुन्छ । रातभरको हिडाई अनुसारको दान उठ्न छोडेको छ । उनले भने, जोगीलाई ९ किसिमको दान गर्नुपर्ने हुन्छ ।
दान संकलनमा जाँदा मानिसहरूले उनीहरूलाई टिका लगाइदिन्छन् र दक्षिणा, सिदा पनि दिन्छन् । जोगीलाई धान, चामल, नुन, तेल, बेसार र कालो कपडा दान गर्नाले ग्रहदशा राम्रो हुने र घरमा हर्ष, शान्ति र समृद्धिले बास बस्ने विश्वास रहेको छ ।
जोगीहरू खेती गर्नुअघि र खेतीपछि कात्तिक र चैत महिनामा भूमिको पूजा गर्ने गर्छन् । हरेक वर्षको चण्डीपूर्णिमाको भोलिपल्ट बिहान घर नजिकैको दोबाटोमा कुुल पूजाको सामग्री बिसर्जन गर्ने बेला वर्षभरी रोगव्याधि हैजा नआओस् भनेर भूमिको पूजा गर्ने गर्छन् ।
मौलिक संस्कृति-परम्पराको रूपमा हरेक वर्ष कात्तिक र चैत महिनामा टाढा–टाढासम्म फेरी फुक्नका लागि हिँड्ने गरेका छन् । राति मात्र फेरी (बराँठको सिङ ) फुक्ने जोगीहरू हरेक घरमा पुगी चारवटा सुरमा र मूल ढोकामा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग बोल्नु नहुने उनीहरु बताउँछन् ।
वर्षको दुई पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने, परिवारका सदस्यहरूलाई रोगव्याधि नलाग्ने र दशाहरू टरेर जाने धार्मिक विश्वास रहेको छ ।








प्रतिक्रिया