सम्पादकीय

यात्रुलाई दुःख नदेऊ

यात्रुलाई दुःख नदेऊ


सम्पादकीय

चाडवाडको बेला आवतजावत अन्य समयभन्दा धेरै नै हुन्छ । आफन्तसँग भेटघाट गर्न जाने र आउनेहरुको चहलपहल स्वभाविक रुपमा बढ्ने गरेको छ । यात्रुको संख्या धेरै भएपछि यातायात व्यवसायीहरुको व्यवहारमा परिवर्तन आउने गरेको छ । अन्य समयमा जस्तो चाडवाडमा गर्ने व्यवहार भिन्न हुने गरेको छ । यात्रुको झोला तानातान गर्ने यातायातका स्टाफहरु चाडवाडमा गाडि चढाउन मान्दैनन् । यस प्रकारका घटनाहरु हरेक बस स्टेण्डमा देख्न पाइन्छ । झापाको बिर्तामोडस्थित पश्चित स्टेण्डमा पनि यस्तै व्यवहार भइरहेको यात्रुहरुको गुनासो छ । यात्रुहरुलाई गर्ने व्यवहार चाडवाडको बेला बदल्नु राम्रो होइन ।

एक जना वृद्धा बिर्तामोडबाट माइधारसम्म जान गाडि चढ्न खोजिन् । उनलाई स्टाफले अर्को बस देखाए । अर्को बसमा जाँदा पनि त्यहि व्यवहार भयो । गाडि खोज्दै चौथो पटकमा गाडिका स्टाफले चढाइदिने बचन दिए । तर, बस बाहिरै बसिरहन भने । ज्येष्ठ नागरिकलाई सम्मानका साथ गाडि चढाउनुपर्नेमा बाहिरै बसिरहन भने । चर्को घाममा वृद्धा बाहिरै बस्नु पर्यो । यो एउटा प्रतिनिधिमुलक घटना हो । यस्तो कष्ट नजिकैको यात्रा गर्ने अधिकांश यात्रुले भोगिरहेका छन् । उनीहरुलाई झोला तानातान गरेको घटना स्मरण गराउँदा व्यवसायीबाटै त्यस्तो निर्देशन भएको बताउँछन् । यो सुधार गर्नुपर्ने विषय हो । यस तर्फ व्यवसायीहरुको ध्यानाकर्षण हुनुपर्छ ।

यो समस्या बिर्तामोडको मात्र होइन । हरेक चोकमा यात्रुले भोगिरहेको समस्या हो । बिर्तामोडबाट दमक जानका लागि यात्रुले धरान विराटनगर जाने बसमा चढ्नु अस्वभाविक होइन । किनभने, अरुबेला तिनै बसले अझै नजिकको यात्रा गर्ने यात्रुहरुको झोला तानातान गरेका थिए । चाडवाडमा यात्रु पर्याप्त भएको मौका छोपेर नजिकै यात्रा गर्नेहरुलाई अवरोध गर्न मिल्दैन । यात्रुको अधिकारलाई व्यवसायीहरुले हनन् गर्न मिल्दैन । चाडवाड सकिएपछि तिनै स्टाफले यात्रु तानातान गर्ने हुन् । अहिले अवरोध गर्नेहरुले पछि के गर्छन् ? यसैले यातायात व्यवसायीहरुले यस प्रकारका समस्या समाधानमा समन्वय गर्नैपर्छ । यो समस्या सधैंका लागि समाधान गर्न स्थानीय प्रशासनले समेत चासो दिनुपर्छ ।

शेयर गर्नुहोस :

54
Shares