बिर्तामोड । झापाका कतिपय वडामा नेपाली कांग्रेसभित्र विद्रोह भएको छ । कतिपय वडामा वागी उम्मेद्वारी परेको छ भने कतिपय ठाउँमा राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दर्ता गरिएको छ ।
हालसम्म बाहिरिएको सूचना अनुसार कांग्रेसले आधिकारिक उम्मेद्वारी दिएका ७ वडामा कांग्रेसकै वडास्तरीय नेताहरुले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।
मेचीनगर–७ मा पार्टीको वडा सभापति कञ्चन खनाल, बिर्तामोड–४ का पूर्व वडा सभापति हेमु खड्का, कनकाई –३ मा कनकाई उधोग वाणिज्य संघका पूर्व अध्यक्ष युवराज संग्रौला, गौरादह–९ का निर्वाचित वडा सदस्य कृष्ण गौतमले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।
यस्तै, कांग्रेस नेता कृष्ण सिटौलाको वडामा समेत विद्रोह भएको छ । सिटौलाको वडा भद्रपुर –१० मा अर्जुनकुमार थापाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गराएका छन् । कमल गाउँपालिका –५ मा पुराना कांग्रेस नेता बालकृष्ण गौतमले वडाध्यक्षमा वागी उम्मेद्वारी दिएका छन् । उनलाई यसअघिको निर्वाचनमा पनि आउँदो निर्वाचनमा वडाध्यक्ष दिने भन्दै राखिएको थियो ।
गौरादह २ मा वडाध्यक्षसहित पाँचै जना सदस्यहरुमा उम्मेद्वारी दिइएको छ । पार्टीको १४ औं महाधिवेशनमा नगर सभापतिमा २ मत अन्तरले पराजित भएका गोपाल कोइरालाले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
यस्तै, कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेर बहादुर थापाले सोमवार विहानै पार्टी परित्याग गरे । उनले पार्टी सभापतिलाई साधारण सदस्य समेत नरहने गरी राजीनामा पत्र बुझाए । दिउँसो उनले मेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । थापाले कांग्रेस परित्याग गर्दा पार्टीलाई ठुलो क्षति पुगेको छ ।







प्रतिक्रिया