काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताउनुभयो ।
“स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ ।” उहाँले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताउनुभयो । “हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन”, उहाँले भन्नुभयो, “तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ । वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्दछ ।”
नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँचदलीय बैठकमा भएको बताउनुभयो । “भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ”, उहाँले भन्नुभयो, “त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्दछ ।” नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताउनुभयो । उहाँले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राख्नुभयो ।
कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको बताउनुभयो । विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने बताउनुभयो । कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने बताउनुभयो । पार्टी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताउनुभयो । कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उहाँको भनाइ छ । “पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ ।
सङ्गठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “आ–आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्दछ ।” उहाँले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताउनुभयो । महासचिव वेदुराम भुसालले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताउनुभयो ।







प्रतिक्रिया