विभेदविरुद्ध विद्रोह बोल्ने चलचित्र ‘पुजार सार्की’
एकराज प्रधान
बुद्धजयन्ती अर्थात् जेठ १० गते सुयोग गुरुङ निर्देशित चलचित्र फर्की फर्की र दिनेश राउत निर्देशित चलचित्र पुजार सार्की आपसमा भिड्ने भएका छन् । एकातिर ‘मेगा स्टार’ अनमोल केसी छन् भने अर्कातिर तीन जना स्टार नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल साह छन् । पुजार सार्कीले उत्पीडनको कथा बोल्छ भने फर्की फर्कीले काल्पनिक दुनियाँमा र्पुयाउनेछ ।
यहाँ पुजार सार्की ट्रेलर बारेमा चर्चा गरौँ । जसमा आर्यन सिग्देल देखिँदैछन् पुजारको रोलमा । जो मन्दिरको हुन्छ । प्रदीप देखिँदैछन् मैतबहादुरको क्यारेक्टरमा । पश्चिमेली टोनमा उनले हसाउँन खोजिरहेका छन् । अनि पल साह चाहिँ एक क्रान्तिकारी भूमिकामा छन् ।
विभेद भोग्नेहरुको कथा र अवस्था नफेरिएको हाम्रो समाजलाई फिल्मले पक्कै झक्झक्याउनेछ । आशा गरौँ, यो फिल्मले विभेदविरुद्ध क्रान्ति गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ ।
ट्रेलरमा यी तीनै युवा जातीय विभेद विरुद्धको युद्ध लड्न तयार देखिन्छन् । उनीहरुले लड्ने युद्धको कथा चैँ खासै नयाँ होइन । केटाकेटीको मन मिल्यो, जात मिलेन । अनि सुरु भयो लडाइँ । यो पुरानै कथा हो । जसलाई हामीले धेरैचोटि हेरिसकेका छौँ । यसलाई स्टार नायकहरुसहितका कलाकार अनि निर्देशकले नयाँ ढंगमा कसरी प्रस्तुत गरेका छन् भन्ने कुरा मात्र हो ।
निर्देशक दिनेश राउतले फिल्मलाई इन्ट्रेस्टिङ बनाएका छन् भन्ने कुरामा चाहिँ विश्वास गर्न सकिन्छ । किनकि ट्रेलर निकै इन्ट्रेस्टिङ र इन्गेजिङ छ । तर, ट्रेलरभन्दा टिजर दमदार रहेको थियो । जसमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिक मौलिक अनि स्क्रिनप्लेको फ्लो पनि गज्जब रहेको थियो ।
ट्रेलरमा मैयाँको रोलमा देखिएकी छन् अञ्जना बराइली । जो पुजार अर्थात् आर्यन सिग्देलको अपोजिटमा देखिँदैछिन् । गौमायाको रुपमा परीक्षा लिम्बू रहेकी छन् । उनी कथित उपल्लो जातको भूमिका देखिँदैछिन् । मैतबहादुरलाई खूब प्रेम गर्छिन् । प्रेम सुब्बा गौमायाको बाको रोलमा छन् । एउटा सिनमा उनी मैतेलाई लखेट्तै गरेको देखिन्छिन् । पल साह चैँ क्रान्तिकारी भएर गाउँमा अधिकारको कुरा गर्दै हिँड्छन ।
व्यवस्था बदलिँदैमा छुवाछूत हट्दैन भन्ने कुरा ट्रेलरबाट बुझन सकिन्छ । प्रगतिशील धारलाई समाएको यसको फिक्का यल्लो कलर टोनले ४० को दशकमा दर्शकलाई र्पुयाउँछ ।
पहिलो कुरो त आर्यन, प्रदीप र पललाई यो खाले क्यारेक्टरमा हामीले यसअघि देखेका छैनौँ । त्यसैले उनीहरुले यो पात्रको चरित्रलाई कति न्याय दिए भन्ने कुरा इन्ट्रेस्टिङ पाटो हो ।
ट्रेलरमा अन्तरजातीय विवाहको जटिलता, अधिकारको लडाइँ र प्रगतिशील विचारलाई प्रमुख विषय बनाइएको छ । फिल्ममा प्रदीप खड्काको हल्का कमेडीमा मजा लिन सकिन्छ ।
जातीय विभेदको मुद्दालाई पुजार सार्कीले कसरी प्रस्तुत गरेको छ, त्यो भने फिल्म रिलिज भएपछि नै थाहा हुनेछ । विभेद भोग्नेहरुको कथा र अवस्था नफेरिएको हाम्रो समाजलाई फिल्म पक्कै झक्झक्याउनेछ । आशा गरौँ, यो फिल्मले विभेदविरुद्ध क्रान्ति गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ ।
यसअघि निर्देशक दिनेश राउतले प्रसाद र प्रकाश जस्ता सशक्त फिल्म दिइसकेका छन् । किङडम नेटवर्कको ब्यानरमा बनेको चलचित्रको लेखन विकास सुवेदीले गरेका हुन् । चलचित्रको निर्माता सुवास भुषाल रहेका छन् । चलचित्रमा प्रकाश सपुत, शान्ति श्री परियार, केतान क्षेत्री, देवेन्द्र बराल, मुना ठटाल लगायतको स्वरमा रहेका गीतहरु सुन्न पाइनेछ ।