मनोरञ्जन

सम्पदाको सहरलाई चलचित्रको विश्वमञ्चमा जोड्दै सुनिता डंगोल

सम्पदाको सहरलाई चलचित्रको विश्वमञ्चमा जोड्दै सुनिता डंगोल


काठमाडौं । काठमाडौंको कला, संस्कृति, सम्पदा र सिर्जनात्मक उद्योगलाई विश्वमञ्चसम्म पुर्‍याउने सपना अब व्यवहारमै देखिन थालेको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको पहलमा पहिलोपटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना भएर सम्पन्न भएको छ ।

काठमाडौंलाई युनेस्कोको सिर्जनात्मक सहर सञ्जालमा आबद्ध गराउँदा चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता गरिएको थियो ।

सुनिताले त्यही प्रतिबद्धतालाई व्यवहारमा उतार्दै काठमाडौंमा फिल्म फेस्टिभलको सुरुवात गरेकी हुन् । यो केवल एउटा महोत्सवको आयोजना मात्र होइन, काठमाडौंको पहिचानलाई चलचित्र र सिर्जनात्मक उद्योगसँग जोड्ने महत्वपूर्ण प्रयास पनि हो ।

कार्तिक १३ गते विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सव कार्तिक १५ गते बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फीथिएटरमा सम्पन्न भयो । तीन दिनसम्म चलेको महोत्सवमा नेपाली चलचित्रका पुराना क्लासिक फिल्म ‘के घर के डेरा’ र ‘कुमारी’ सहित सर्ट भिडियो, नेपाली पानोरामा र अन्तर्राष्ट्रिय पानोरामा विधाका गरी ४० चलचित्र प्रदर्शन गरिए ।

सुनिताको यो पहलले काठमाडौंलाई मन्दिर, सम्पदा र ऐतिहासिक सहरका रूपमा मात्र नभई चलचित्र, कला र सिर्जनात्मक उद्योगको केन्द्रका रूपमा समेत स्थापित गर्ने सम्भावना देखाएको छ । विशेषगरी नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँग जोड्ने र काठमाडौंका कथा विश्वभर पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो अभियानले चलचित्र उद्योगमा नयाँ उत्साह थपेको छ ।

समापन समारोहमा सुनिताले यसलाई सुरुवातका रूपमा लिँदै आगामी संस्करणलाई अझ व्यवस्थित र परिष्कृत बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “यो सुरुवात हो । यो कार्यक्रम नेपाली चलचित्र उद्योगप्रति समर्पित कार्यक्रम हो । पहिलो कार्यक्रमबाट प्राप्त गरेको सिकाइ र सुधारका लागि प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित गर्दै लैजानेछौँ ।”

चलचित्रमार्फत काठमाडौंका कथा विश्वभर सुनाउने, कला, साहित्य र सिर्जनाका क्षेत्रलाई एउटै अभियानमा जोड्ने तथा सिर्जनात्मक उद्योगको विकास गर्ने योजना पनि उनले सुनाइन् ।

महोत्सवको अन्तिम दिन बौद्धनाथ स्तूपाको परिक्रमा र प्रार्थनाबाट कार्यक्रम सुरु भएको थियो । स्तूपा पुगेका कलाकार तथा विशिष्ट अतिथिहरूलाई वडा नं. ६ ले मौलिक गायन र वादन प्रस्तुतिसहित खादाद्वारा स्वागत गरेको थियो । त्यसपछि सहभागीहरूले बौद्धदेखि तारागाउँसम्म पैदल यात्रा गरेका थिए । चलचित्रकर्मी तथा सिर्जनाकर्मीलाई काठमाडौंको जनजीवन, संस्कृति र सम्पदासँग प्रत्यक्ष परिचित गराउनु यात्राको उद्देश्य थियो ।

समापन समारोहमा वरिष्ठ कलाकार नीर शाहले काठमाडौं महानगरपालिकाले उच्चस्तरको फिल्म फेस्टिभलको सुरुवात गरेको भन्दै यसको अनुभवलाई अभिलेखीकरण, पुस्तान्तरण र प्रवर्द्धन गर्नुपर्ने बताए ।

सरकारले यसअघि नै गर्नुपर्ने काम महानगरपालिकाले सुरु गरेको उनको भनाइ थियो ।

नेपाली चलचित्रका महानायक राजेश हमालले समाजका कथा, अवस्था र परिस्थितिलाई आमदर्शकमाझ पुर्‍याउन चलचित्र सबैभन्दा सशक्त माध्यम भएको बताए । अन्तर्राष्ट्रिय प्रविधि र प्राविधिक ज्ञान भित्र्याउँदै नेपालको अद्वितीय सम्पदालाई विश्वमाझ चिनाउन महानगरपालिकाले गरेको पहलले नेपाली चलचित्र उद्योगलाई पनि लाभ पुग्ने उनको धारणा थियो ।

सांघाई फिल्म एकेडेमीअन्तर्गत फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले दक्षिण एसियाली चलचित्र उद्योगको विकासका लागि नेपालमा प्रचुर सम्भावना रहेको बताए । काठमाडौंले सुरु गरेको अभियानबाट नेपाली चलचित्र उद्योगसँगै अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रले पनि लाभ लिन सक्ने उनको भनाइ थियो ।

महोत्सवकी क्रिएटिभ डाइरेक्टर तथा क्युरेटर आयूषा श्रेष्ठले चलचित्र र कला क्षेत्रबाट प्राप्त सहयोगले महोत्सव सफल भएको बताइन् । उनले यसलाई काठमाडौं महानगरपालिकाको इतिहासमा महत्वपूर्ण कामका रूपमा उल्लेख गरिन् ।

नेपाल पर्वतारोहण संघकी अध्यक्ष फुर्वा ग्याल्मो शेर्पाले नेपालको साहसिक पर्यटन, हिमाली जीवन र प्राकृतिक सम्पदाका कथालाई चलचित्र क्षेत्रसँग जोड्न महानगरपालिकाले थप पहल गर्ने अपेक्षा व्यक्त गरिन् ।

समापन समारोहमा काठमाडौं कला परिषद्का सदस्य, महोत्सवका सल्लाहकार, आयोजनामा योगदान पुर्‍याउने विभिन्न विधाका निर्देशक तथा साझेदार संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

चार वर्षअघि गरिएको प्रतिबद्धता पूरा गर्दै सुनिता डंगोलको पहलमा सुरु भएको काठमाडौं फिल्म फेस्टिभलले एउटा महत्वपूर्ण सन्देश दिएको छ– काठमाडौंसँग विश्वलाई सुनाउन सकिने आफ्नै कथा, संस्कृति, सम्पदा र सिर्जना छन् । अब ती कथालाई चलचित्रमार्फत विश्वमाझ पुर्‍याउने अभियानले निरन्तरता पाउनु आवश्यक छ । पहिलो संस्करणको सफल आयोजनाले त्यसका लागि एउटा नयाँ ढोका खोलेको छ ।

शेयर गर्नुहोस :

108
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu