बिर्तामोड । रिलिज मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । यसैक्रममा चलचित्रका अभिनेता आर्यन सिग्देल र जितु नेपाल बुधबार झापा आइपुगेका छन् ।
चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अभिनेता जितु नेपालले चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै चलचित्रसँग जोडिएका धेरै विवादित विषय सम्बोधन भएको बताएका छन् ।

‘सेन्सरका क्रममा विज्ञ टोलीले चलचित्रको प्रशंसा गर्दै नि:सन्देह सबैले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गर्नुभएको छ,’ उनले भने, ‘भर्खरै सार्वजनिक भएको दोस्रो ट्रेलरले पनि चलचित्रको विषयवस्तुबारे धेरै कुरा प्रस्ट पारिसकेको छ, दर्शकले पनि यो कुरा बुझिसक्नुभएको छ भन्ने लाग्छ ।’
चलचित्रको अधिकांश छायांकन झापा र इलाममा गरिएको जानकारी दिँदै उनले पूर्वका दर्शकबाट चलचित्रलाई पूर्ण साथ मिल्ने विश्वास व्यक्त गरे । धार्मिक आस्थाप्रति आफूहरू सचेत रहेको उल्लेख गर्दै उनले विवादित विषयलाई लिएर चलचित्र नहेरी धारणा नबनाउन आग्रह गरे ।
‘विवादको जुन विषय छ, पूरा चलचित्र हेरिसकेपछि दर्शकलाई पक्कै लाग्छ- यो कुनै विवादको विषय नै होइन,’ उनले भने । अभिनेता आर्यन सिग्देलले आफ्नो करिअरका सुरुवाती चलचित्रलाई पूर्वका दर्शकले दिएको माया स्मरण गरेका छन् । पूर्वको दर्शकको साथ र मायाले धेरै कलाकारलाई स्टार बनाएको उनको भनाइ रहेको छ ।
पछिल्लो समय फरक-फरक पात्रमा अभिनय गर्ने आफ्नो रुचि पूरा हुँदै गएको बताउँदै आर्यनले ‘पाँच पाण्डव’को आइडिया र पात्रबारे सुनेपछि नै चलचित्रमा जोडिने निर्णय गरेको बताए ।
‘चलचित्रको आइडिया र क्यारेक्टर सुन्दै मन परेको थियो । त्यसैले म यसमा जोडिएँ,’ उनले भने । चलचित्रमा एक्सन, रोमान्स र कमेडीलगायतका मनोरञ्जनात्मक पक्ष समेटिएको पनि उनले बताए ।
चलचित्रसँग जोडिएको विवादबारे बोल्दै उनले हलमा प्रदर्शन नै नभई पूर्वानुमानका आधारमा धारणा बनाउनुभन्दा एकपटक चलचित्र हेरेर प्रतिक्रिया दिन उपयुक्त हुने बताए ।
त्यस्तै, अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’का रूपमा प्रस्तुत गर्दै क्यासिनोमा नचाइएको विषयले विवाद सिर्जना गरेको प्रसङ्गमा आर्यनले चलचित्र वास्तविक महाभारतको कथा नभएको स्पष्ट पारे । ‘पहिलो कुरा, यो रियल महाभारतको कथा होइन, यो पाँच पाण्डवको कथा हो । त्यसैले कुनै पात्र द्रौपदीजस्तो लाग्नु स्वाभाविक हो, तर चलचित्रमा त्यस्तो छैन,’ उनले भने ।
निर्माण पक्षका अनुसार चलचित्रमा ‘युधिष्ठिर’ पात्र आफ्ना भाइहरूको खोजीमा निस्किएको कथा प्रस्तुत गरिएको छ । यात्राका क्रममा विभिन्न पात्रलाई आफ्नै भाइ सम्झिने अवस्थामार्फत चलचित्रले दाजुभाइबीचको सम्बन्ध र वर्तमान समाजमा देखिएका विविध समस्यालाई उठान गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल झापाकी उपाध्यक्ष सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा चलचित्र टिमका समीर नेपाल, पिज्जा घरका सञ्चालक तथा कलाकार याम खरेललगायतको उपस्थिति थियो ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ ।
नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा कालीरानी श्रेष्ठको लगानी छ । सुशील पौडेलको लेखन, श्याम तामाङको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।





प्रतिक्रिया