काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशैभरी क्षतिग्रस्त भएका पार्टी कार्यलयहरुको पुनर्निर्माण सुरु गर्न कार्यकर्ताहरुलाई अपिल गर्नु भएको छ ।
जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तीलाई निर्देशन दिनुभएको छ ।

महासचिव पोखरेलले एमाले असोज तीन गते खरानीको थुप्रोबाट नै संविधान दिवश मनाउन पनि सबैलाई निर्देशन दिनुभएको छ । ‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त भएको संविधान दिवस असोज ३ गते पर्दछ । उक्त दिवश हामी खरानीकै थुप्रोबाट मनाउने छौं । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ ।’ उहाँले सधैं सडकबाट निर्णय नहुने भएकोले सडकबाट प्राप्त गरेका उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने महासचिव पोखरेलले बताउनुभयो । यो सरकार अन्तरिम भएकोले यसको मुल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा ध्यान जानेमा आफू विश्वश्त रहेको पोखरेलले बताउनुभयो । ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरु जनतामा गएर,जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौं ’ पोखरेलले भन्नुभयो ।







प्रतिक्रिया