मुख्य समाचार

मोरङमा प्रहरी कार्यालय आगजनी गर्ने २१ जना पक्राउ

मोरङमा प्रहरी कार्यालय आगजनी गर्ने २१ जना पक्राउ


विराटनगर । जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने अराजक समूहका २१ जना पक्राउ परेका छन् ।

प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । आगजनी र तोडफोड गरेर थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।

त्यस्तै, विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय तथा विभिन्न प्रहरी बिटहरुमा आगजनी र तोडफोड गरियो । सीआरभीको गाडीसमेत जलाइयो । ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड गरिएको थियो ।
भदौ २४ गतेको अपराधिक घटनामा संलग्नहरु अहिले धमाधम पक्राउ पर्न थालेका हुन् । उर्लाबारीबाट उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास पक्राउ परेका छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् ।

विराटनगर र जहदाबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर आतंक मच्चाइएको थियो । अराजकता मच्चाउनेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन थालिएको छ । घटनामा जोसुकै संलग्न भए पनि उन्मुक्ति पाउँदैनन्,’ उनले भने ।

मोरङ प्रहरीको यो कारबाहीबाट आतंक मच्चाउने र हुलहुज्जत गर्ने तथा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले छाड्दैन भन्ने सन्देश प्रवाह भएको छ । एसपी कटवालले भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको बताए । ‘सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको छ । पहिचान भइसकेकालाई पक्राउ गरेर कानुनको दायरामा ल्याइसकियो,’ उनले भने ।

आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरुको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । विध्वंस मच्चाउने समूह प्रहरीको निगरानीमा रहेको एसपी कटवालले बताए ।

आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेर सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मल ध्वस्त पारिएको थियो । विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गर्न उक्साउनेलाई पनि कारबाही गरिने छ ।

‘कसैलाई पनि उन्मुक्ति दिइने छैन । पहिचान गरेर सबैलाई कानुनको दायरामा ल्याइने छ । घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरु संकलन गरेर विश्लेषण गर्ने काम भइरहेको छ,’ एसपी कटवालले भने । सुरुमा प्रहरी कार्यालयमा आक्रमण गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइएको छ ।

त्यसपछि सरकारी एवं निजी सम्पत्ति ध्वस्त पार्नेलाई कारबाही गर्ने प्रहरीको तयारी छ । भदौ २४ को अराजक घटनाले प्रहरीको मनोबल खस्किएको छ । जेनजीको नाम लिएर अपराधिक कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरेर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित हुने एसपी कटवाल बताउँछन् ।

उनका अनुसार अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई उक्साउनेहरु भाग्न नपाउन् भनेर प्रहरीले निगरानी बढाएको छ । तिनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरीले संवेदनशील भएर काम गरिरहेको जानकारी एसपी कटवालले दिए ।

‘प्रहरी नागरिकको सेवामा प्रतिबद्ध छ । आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित छौं । शान्ति सुरक्षाको अवस्था मजबुत बनाउँदै अपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । जुनसुकै खालका अपराधलाई नियन्त्रणमा लिन र अपराधमा संलग्नलाई कारबाही गर्न प्रहरी निर्मम हिसाबले लाग्छ,’ उनले भने ।

सबैसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्भीक हिसाबबाट प्रहरीले काम गर्ने उनी बताउँछन् । उनले नागरिकले अनुभूति गर्ने गरी सुरक्षा दिन प्रहरी तयार रहेको बताए । सबैतिर प्रहरी सक्रियता बढाइएको र प्रहरीले कारबाहीलाई तीव्र पारेको जानकारी कटवालले दिए । आन्दोलनका नाममा विध्वंस मच्चाइएको घटनासँग सम्बन्धित प्रमाण भएमा उपलब्ध गराउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares