खेल

भद्रपुरमा कात्तिक १३ गतेदेखि अन्तर्राष्ट्रिय हक्की हुने

भद्रपुरमा कात्तिक १३ गतेदेखि अन्तर्राष्ट्रिय हक्की हुने


बिर्तामोड । नेपालमै पहिलोपटक झापाको भद्रपुरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता हक्कीको उर्वर भूमि मानिएको भद्रपुरको पुहाँतुबारीमा हुनेछ ।

प्रतियोगिताका लागि पुहाँतु जनज्योति माविको खेल मैदानको स्तरोन्नति गरिएको छ । झाररहित मैदानलाई रोलर लगाएर कसिलो बनाउने काम भइरहेको हक्की प्रशिक्षक दिपक खतिवडाले जानकारी दिए ।

प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक, नेपालका विभागीय सहित सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागिता रहने आयोजक भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

तर, बंगलादेशका खेलाडी र अफिसियललाई भारतले भिसा दिन नमानेका कारण टुंगो लागिनसकेको खतिवडाले बताए । शनिबारसम्म अन्तिम प्रयास गरिने र नभए भारतका तीन टिम मात्र सहभागी हुने जनाइएको छ ।

प्रतियोगिताका विजेता नगद २ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेतालाई नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । पुहाँतुबारीमा यसअघि पनि राष्ट्रियस्तरको हक्की भइसकेको छ ।

फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिता यही कात्तिक १३ गतेदेखि १५ गतेसम्म हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक चन्द्रगढी सामुदायिक वन रहेको छ । प्रतियोगिता सफल बनाउन स्थानीयस्तरमा विभिन्न समिति बनाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares