जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।
माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा आइतबार (कात्तिक ८) बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मिथिला बिहारी–४, भरतपुर निवासी उमेश केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्र ससुराली पुगेका थिए ।
उनीहरूका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको डीएसपी खनालले बताए । घटनाको प्रकृति शंकास्पद देखिएको उनले उल्लेख गरे । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उनले भने ।
घटनाका कारण तथा मृत्युको परिस्थितिबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया