लक्ष्मी उप्रेती
झापा । बंगलादेशमा तनाव बढेपछि नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको छ । बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटोहुँदैं अबैधरुपमा बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएको बताईएको छ । खासगरी नेपाल प्रवेशको काँकरभिट्टा, भद्रपुर तथा गौरीगञ्ज नाकाहरु र अन्य स्थानमा समेतसुरक्षा अवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

‘यसै विषयलाई लिएर जिल्लास्थित सुरक्षा समितिको बैठक समेत सम्पन्न भएको छ’ कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका सचिवसहितको उपस्थितिमा समेत बैठक बसेको छ । बैठकमा यो विषयमा कुरा उठेको थियो ।’
झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमाना रहेको छ । खुला सीमानाको फाईदा उठाउँदैं कसैले पनि गलत क्रियाकलाप गर्न नसकुन् भनेर भारतसँग सीमा जोडिएका नेपालतर्फको नाकामा प्रहरीले उच्च निगरानी बढाएको कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए । केहीदिन अघि अबैधरुपमा काँकरभिट्टा नाका हुँदैं बंगलादेशी नागरिक नेपाल छिर्न लागेको गोप्य सूचना प्रशासनलाई जानकारी प्राप्त भएको थियो । त्यसलगत्तै सवै नाकामा नेपाली सुरक्षा अधिकारीहरुले हरेक नाकाहरुमा उच्च सतर्कता अपनाएको र निगरानी बढाएको कार्यालयको भनाई छ ।
भारतको पानीट्याँकीबाट नेपालको काँकरभिट्टा नाका हुँदैं बंगलादेशका नागरिक नेपाल प्रयास गर्ने प्रयास गरिरहेका खवर विभिन्न स्रोतबाट प्राप्त हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाई छ । नेपालको झापाबाट बंगलादेशको राजधानी ढाका करिब पाँच सय किमि टाढा पर्छ । मेची पुलबाट बंगलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किमि मात्रै टाढा पर्छ । बंगलादेशीहरू भारतीय नागरिक ‐बंगाली) बनेर अवैध रूपमा नेपाल छिर्ने गरेका घटना बेला–बेला सार्वजनिक हुँदै आएका कारण पनि पछिल्लो समय नेपालतर्फ आवतजावत गर्नेमा कडाई गरिएको र शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर आवश्यक जानकारी लिने गरिएको एकजना उच्च प्रहरी अधिकृतले बताए ।
बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएपछि फेरि बंगलादेशको राजनीतिक संकट र हिंसाका बढ्न सक्ने बताइएको छ । ५ अगस्ट २०२४ मा आन्दोलन भड्किएर हसिनासहित अन्य तत्कालीन सरकारका आरोपी देश छाडेर भाग्नु परेको थियो । अगस्ट २०२४ मा हसिना देशबाट भागेर भारतमा निवार्सनमा छिन् ।
सीमा क्षेत्रबाट हुने आवागमनलाई सूक्ष्म निगरानी गर्न र अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा संयन्त्रको उपस्थिति बाक्लो बनाइएको जनाइएको छ । नेपाली सुरक्षा अधिकारीहरुका अनुसार हसिना समर्थक र हालको अन्तरिम सरकार पक्षधरबीच थप हिंसा भड्किन सक्ने र यसबाट नेपालसम्मै असर पुग्ने आशंसहित नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागतका सुरक्षा संयन्त्रलाई उच्च सतर्कतासहित परिचालन गरिएको छ । आबश्यक परे सशस्त्र प्रहरी, नेपाल प्रहरीले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा नियमितबाहेक अतिरिक्त जनशक्ति परिचालन गर्ने बताईएको छ ।
झापाको तिरीङ्ग, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा, ज्यामिरगढी, महेशपुर, पृथ्वीनगर, पाठामारी, केचना, भाघडुब्बा, पन्थापाडा, टाघनडुब्बा, कुञ्जिवारी, लालमाटी, आमगाछीलगायतका १५ स्थानमा स—शस्त्र प्रहरी बल नेपालका बोडर आउट पोष्ट ‐विओपी) छन् भने काँकरभिट्टा, भद्रपुर, घेरावारी र गौरीगञ्जमा सशसत्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म खडा छन् । नेपाल प्रहरीका पनि प्रहरी चौकी, सीमा प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पनि छन् । कहिल काँही नेपाली सेना,सशस्त्र प्रहरी र जनपथ प्रहरीले को संयुक्त पैदल गस्ती गर्ने गरेका छन् ।
सीमा क्षेत्रमा ‘डग स्नाइपिड’ अप्रेसन समेत जारी छ । पछिल्लो समय लागू औषधको अवैध कारोबार र विभिन्न आपराधिक गतिविधी बढ्दै गएका कारण सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषध नियन्त्रण र अपराध न्यूनिकरणका लागि नेपाल–भारत सीमामा ‘डग स्नाइपिड’ अभियान चलाएको छ ।
रोहिंग्या र अफगानी नागरिकहरू भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल छिरेका घटनाहरु यसअघि पनि भएकाले त्यसतर्फ पनि नेपाल प्रहरीले बेलैमा सुरक्षा मजवुत पारेको प्रहरीको भनाई छ । विगतमा सीमा सुरक्षा र विदेशी नागरिकको आवागमन व्यवस्थापनमा देखिएका कमजोरीका कारण गैरकानुनी घुसपैठ भएको र बंगलादेशको पछिल्लो घटनाक्रमले पहिले जस्तै गतिविधि दोहोरिन नदिन सोहीअनुसार सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको जनाएको छ ।







प्रतिक्रिया