सम्पादकीय

ह्याकरबाट खाता जोगाऔं

ह्याकरबाट खाता जोगाऔं


सम्पादकीय
झापा भद्रपुरका पवन कार्की र आशा ढकाल ह्याकरबाट लुटिएका छन् । उनीहरुको खातामा रहेको पैसा ह्याकरले सजिलै लुटिदियो । यो घटना प्रतिनिधि घटना हो । यस प्रकारका कयौं घटनाहरु भइरहेका छन् ।
पछिल्लो समय भएका डिजिटल बैंकिङ ठगीका घटनाहरूले वित्तीय सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ । ‘ईसेवामा पुरस्कार परेको’ भन्दै प्रलोभन देखाएर एक जनाको ६ लाख रुपैयाँ लुटिनु र अर्का एक व्यक्तिको सात–आठवटा बैंक खाताबाट मात्र ३० सेकेण्डभित्रै मौज्दात रकम रित्याइनुले अपराधीहरू योजनाबद्ध रहेको स्पष्ट बनाएको छ । ह्याकरले आक्रामक रुपमा लुटपाट मच्चाइरहेका छन् । यो घटनाले व्यक्तिगत क्षति मात्र होइन, समग्र डिजिटल सुरक्षामाथि आशंका पैदा गराएको छ ।

डिजिटल कारोबारलाई सरकार र राष्ट्र बैंकले प्रोत्साहन गरिरहँदा सुरक्षाका संयन्त्रहरू भने अझै पनि कमजोर भएको यस प्रकारका घटनाले स्पष्ट बनाएको छ । भद्रपुरका यी घटनाहरूमा पीडितहरूले कुनै परिचित गिरोह नै संलग्न कि भन्ने शंका गरिरहेका छन् । यति छोटो समयमा धेरै खाताहरूबाट रकम स्थानान्तरण हुनुले बैंकहरूको प्राविधिक सुरक्षा कमजोर रहेको पुष्टि गर्छ । यदि बचतकर्ताको पैसा यसरी नै क्षणभरमा गायब हुने हो भने, डिजिटल कारोबारको भविष्य अन्यौलमा पर्ने निश्चित छ । यस समस्याका दुईवटा पाटा छन् । पहिलो, ग्राहकको सचेतना नै हो । सामान्य उपहार वा पुरस्कारको लोभमा परेर आफ्नो पिन, ओटीपी र पासवर्ड अपरिचित व्यक्तिलाई उपलब्ध गराउनु अर्को गल्ती हो । यसले सुरक्षा जोखिम थप्ने छ ।

प्रविधिको प्रयोगमा कमजोरी गरियो भने आफैलाई क्षति हुनेछ । प्रविधिको प्रयोग संवेदनशील पनि छ भन्ने कुरा आम नागरिकले बुझ्न जरुरी छ । दोस्रो, बैंक तथा वित्तीय संस्थाको जिम्मेवारीको सवाल । बैंकहरूले सेवा शुल्क असुल्ने मात्र नभई ग्राहकको निक्षेपको सुरक्षा गर्ने पूर्ण ग्यारेन्टी दिनुपर्छ । असामान्य कारोबार भए तत्काल पहिचान गर्ने र रोक्ने प्रणालीलाई थप मजबुत बनाउनु आवश्यक छ । प्रविधिको दुरुपयोग रोक्न कानुनी निकाय र साइबर ब्यूरोको सक्रियता अनिवार्य छ । भद्रपुरमा भएको डिजिटल लुटको श्रृंखला नरोकिए नागरिकको आर्थिक सुरक्षा संवेदनशिल बन्ने निश्चित छ । बैंकहरूले आफ्ना ग्राहकलाई प्रविधि मैत्री सेवासँगै सुरक्षा प्रदान गर्न सक्नुपर्छ । सानो प्रलोभन र प्राविधिक कमजोरीले क्षणभरमा ठुलो आर्थिक नोक्सानी हुने हुँदा विशेष सतर्कता अपनाऔं ।

शेयर गर्नुहोस :

108
Shares