सम्पादकीय

खानेपानीमा दलीय छायाँको निरन्तरता

खानेपानीमा दलीय छायाँको निरन्तरता

सम्पादकीय


सामाजिक तथा उपभोक्तामुखी संस्थाहरू नागरिकका साझा सरोकार र आवश्यकतासँग जोडिएका हुन्छन् । यस्ता संस्थाको मूल उद्देश्य सेवा प्रवाह, उपभोक्ताको हित संरक्षण र संस्थागत विकास हो । तर, पछिल्लो समय सामाजिक संस्थासमेत राजनीतिक दलहरूको प्रभाव र प्रतिस्पर्धाबाट मुक्त रहन सकेका छैनन् । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा देखिएको दलीय गठबन्धन यसको पछिल्लो उदाहरण हो ।

वर्षौंदेखि राजनीतिक दलहरूबिच गठबन्धन बनाएर नेतृत्व चयन गर्ने प्रवृत्ति दोहोरिँदै आएको छ । यसपटक पनि विभिन्न दलले आ-आफ्ना गठबन्धन बनाएर अध्यक्षलगायतका पदमा उम्मेदवार अघि सार्ने तयारी गरेका छन् । आखिर खानेपानीजस्तो आधारभूत सेवा प्रदान गर्ने उपभोक्ता संस्थामा राजनीतिक दलहरूबिच शक्ति प्रदर्शन किन आवश्यक पर्छ ? के यस्ता संस्थाको नेतृत्व चयन क्षमता, इमानदारी र कार्यसम्पादनका आधारमा हुन सक्दैन ?

सामाजिक संस्थाको नेतृत्व राजनीतिक भागबन्डा र दलीय समीकरणबाट तय हुन थालेपछि संस्थाको प्राथमिकता उपभोक्ताको हितभन्दा राजनीतिक स्वार्थतर्फ मोडिने जोखिम रहन्छ । नेतृत्व चयनमा दलगत दबाब बढ्दै जाँदा योग्य र सक्षम व्यक्तिले अवसर नपाउने अवस्था पनि सिर्जना हुन सक्छ । यसले संस्थाको क्रियाशीलता, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउँछ ।

खानेपानी संस्था कुनै राजनीतिक दलको प्रभाव विस्तार गर्ने थलो होइन । यो हजारौँ उपभोक्ताको साझा सम्पत्ति र साझा जिम्मेवारी हो । त्यसैले नेतृत्व चयनमा दलीय आबद्धताभन्दा संस्थागत अनुभव, कार्यक्षमता, इमानदारी र उपभोक्ताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ । सहमति, आलोपालो वा सामूहिक नेतृत्वको अभ्यासबाट पनि सक्षम व्यक्तिलाई अवसर दिन सकिन्छ ।

निर्वाचन लोकतान्त्रिक अभ्यास हो । तर, हरेक सामाजिक संस्थामा दलीय प्रतिस्पर्धा अनिवार्य छैन । राजनीतिक हस्तक्षेपबाट संस्थालाई मुक्त राख्दै उपभोक्ताको विश्वास र हितलाई केन्द्रमा राख्नु आजको आवश्यकता हो । सामाजिक संस्थामा दल होइन, सेवा र जिम्मेवारीको प्रतिस्पर्धा हुनुपर्छ ।

शेयर गर्नुहोस :

54
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu