सम्पादकीय

लागूऔषधको सीमापार सञ्जाल

लागूऔषधको सीमापार सञ्जाल

सम्पादकीय


लागूऔषध दुव्र्यसन अहिले नेपाली समाजको गम्भीर सामाजिक सुरक्षा चुनौतीका रूपमा देखापरेको छ । विशेषगरी खुला सीमाको फाइदा उठाउँदै भारतीय क्षेत्रबाट नेपाल भित्रिने ब्राउन सुगरलगायतका लागूऔषधको कारोबारले नेपाली युवाको भविष्य जोखिममा पारिरहेको छ । सीमापारिका कारोबारीसँगको सम्पर्कमा नेपाली युवाले लागूऔषध नेपाल भित्र्याउने र स्थानीयस्तरमा बिक्री वितरण गर्ने गरेको घटनाले यसको सञ्जाल कति गहिरोसम्म फैलिएको छ भन्ने देखाउँछ । मोरङको रंगेलीमा ब्राउन सुगर बिक्री गर्दै गरेको अवस्थामा बाबु, आमा र छोरासमेत पक्राउ परेको घटनाले लागूऔषध कारोबारको भयावह पक्ष उजागर गरेको छ ।

परिवारका सदस्य नै यस्तो अवैध धन्दामा संलग्न हुनु सामान्य आपराधिक घटना मात्रै होइन, समाजमा मौलाउँदै गएको विकृतिको संकेत पनि हो । लागूऔषध कारोबार नाफामुखी अपराधमा सीमित नरही परिवार र सामाजिक सम्बन्धसमेत प्रभावित पार्ने अवस्थामा पुगेको छ । यसको अर्को चिन्ताजनक पक्ष प्रहरी कारबाहीको प्रकृति हो । लागूऔषधसहित साना विक्रेता र प्रयोगकर्ता पक्राउ परे पनि मुख्य कारोबारी तथा आपूर्ति सञ्जालसम्म अनुसन्धान पुग्न नसकेको गुनासो छ । सीमापारिबाट लागूऔषध ल्याउने, नेपाली बिचौलियामार्फत वितरण गर्ने र युवालाई दुव्र्यसनमा धकेल्ने सञ्जाल तोड्न नसकिएसम्म पक्राउको संख्या बढाएर मात्रै समस्या समाधान हुँदैन ।

यसका लागि नेपाल र भारतका सुरक्षा निकायबिच प्रभावकारी सूचना आदानप्रदान र संयुक्त निगरानी आवश्यक छ । सीमावर्ती क्षेत्रमा प्रहरी उपस्थिति, नियमित गस्ती र शंकास्पद कारोबारमाथि निगरानी बढाउनुपर्छ । कारोबारको आर्थिक सञ्जाल र मुख्य आपूर्तिकर्ताको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । अर्कोतर्फ, दुव्र्यसनमा फसेका युवालाई अपराधीका रूपमा मात्रै हेर्ने होइन । उपचार, परामर्श र पुनःस्थापनाको अवसर पनि दिनुपर्छ । विद्यालय, परिवार, स्थानीय सरकार र समुदायको सक्रियता बढाउनुपर्छ । लागूऔषधविरुद्धको लडाइँ प्रहरीको मात्र जिम्मेवारी होइन । युवाको भविष्य जोगाउने र समाजलाई सुरक्षित राख्ने साझा अभियान हो ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu