सम्पादकीय

बालबालिकाको खाजा

बालबालिकाको खाजा


सम्पादकीय
बालबालिकाको स्वास्थ्य र शारीरिक तथा मानसिक विकासमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ । विशेषगरी विद्यालय जाने उमेरका बालबालिकाका लागि खाजा भोक मेटाउने माध्यम मात्र होइन, शरीरलाई आवश्यक पोषण प्राप्त गर्ने आधार पनि हो । तर, पछिल्लो समय बालबालिकाको खाजाको रोजाइ र खानपानको बानीमा परिवर्तन आएको छ । पोषिलो खानेकुराभन्दा चाउचाउ, चिप्स, बिस्कुट, चकलेट, चिसो पेय पदार्थ र मैदाबाट बनेका परिकारप्रति उनीहरूको आकर्षण बढ्दो छ । यो प्रवृत्ति बालस्वास्थ्यका दृष्टिले चिन्ताजनक छ ।

बिर्तामोडस्थित कनकाई हस्पिटलमा कार्यरत नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रविन रेग्मीले अभिभावकलाई सकेसम्म घरमै तयार गरिएको खाजा विद्यालय पठाउन आग्रह गर्नुभएको छ । उहाँको अनुभवले बालबालिकाको खानपानमा आमअभिभावकको ध्यानाकर्षण गराएको छ । तर, यसको अर्थ विद्यालयमा उपलब्ध हुने सबै खाजा अस्वस्थकर हुन्छन् भन्ने होइन । विद्यालयका क्यान्टिनले पनि सरसफाइ, खाद्य गुणस्तर र पोषणलाई प्राथमिकतामा राखेर खाजा उपलब्ध गराउन सक्छन् र गराउनुपर्छ ।

घरमा तयार गरिएको खाजामा सामग्रीको छनोट, सरसफाइ र पोषणको मात्रा अभिभावकले आफैँ सुनिश्चित गर्न सक्छन् । त्यसैले सम्भव भएसम्म घरबाटै खाजा पठाउने बानी राम्रो हो । तर, सबै अभिभावकलाई दैनिक घरमै खाजा तयार गर्न सहज नहुन सक्छ । यस्तो अवस्थामा विद्यालयको भूमिका अझ महत्वपूर्ण हुन्छ । विद्यालयले क्यान्टिन सञ्चालन गर्ने वा खाजा उपलब्ध गराउने व्यवस्थामा पोषण र स्वच्छतालाई अनिवार्य सर्त बनाउनुपर्छ ।बालबालिकाको खाजामा फलफूल, दूध, दही, अण्डा, चना, भटमास, मकै, गेडागुडी, रोटी, चिउरा, तरकारी तथा घरमै तयार गरिएका अन्य परिकार समावेश गर्न सकिन्छ । यी खाद्य पदार्थबाट शरीरलाई आवश्यक प्रोटिन, भिटामिन, खनिज र ऊर्जा प्राप्त हुन्छ । खाजाको छनोट गर्दा बालबालिकाको उमेर र आवश्यकताअनुसार पोषणको सन्तुलन मिलाउनुपर्छ ।

अर्कोतर्फ, बालबालिकालाई जङ्क फुडबाट टाढा राख्ने जिम्मेवारी अभिभावकको हो । विद्यालयले पनि क्यान्टिनमा बिक्री हुने खाद्य वस्तुको निगरानी गर्नुपर्छ । प्याकेटका खानेकुरा र अत्यधिक चिनी, नुन तथा चिल्लो भएका परिकारको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । बालबालिकालाई के खाने र के नखाने भन्ने विषयमा व्यवहारिक शिक्षा दिनु पनि उत्तिकै आवश्यक छ ।बालबालिकाको खानपान सुधार्न घर र विद्यालयबिच सहकार्य हुनुपर्छ । अभिभावकले घरमा पोषिलो खानेकुरा खुवाउने बानी बसाल्ने र विद्यालयले पनि स्वस्थ खाजा उपलब्ध गराउने वातावरण बनाउन सके बालस्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । अन्ततः बालबालिकाले के खाइरहेका छन् भन्ने प्रश्न घरको भान्छादेखि विद्यालयको क्यान्टिनसम्म पुग्नुपर्छ । खाजाको गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी आमअभिभावक, विद्यालय र समग्र समाजको साझा दायित्व पनि हो ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu