सम्पादकीय
नेपाली समाज एक अर्काप्रति आदरसम्मान गर्ने समाज हो । पछिल्लो वर्षहरु नेपाली समाजमा बढ्दै गइरहेको अराजकता, घृणा, अपमान, तिरस्कार र खुलेयाम अपराध गर्ने धम्कीहरुले चिन्तित बनाएको छ । जेनजी अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा बलात्कार गरिदिने धम्की दिएको घटनाले नेपाली समाजमा बढ्दै गइरहेको अपराधिकरणलाई स्पष्ट पारेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आन्दोलनरत अमिशालाई दिएको धम्की गम्भीर छ, अपराधिक छ । कोही कसैले समर्थन वा विरोध गर्न पाउने हक छ । लोकतन्त्रमा सबैलाई त्यो अधिकार छ । केपी शर्मा ओलीको समर्थन गरेकै कारण बलात्कार गरिदिने धम्की दिनु नेपाली समाजका लागि अपाच्य विषय हो । सरकार के हेरेर बसिरहेको छ ?
सामाजिक सञ्जालको प्रयोग गरेर दिदीबहिनीहरुमाथि बढिरहेको साइवर हमला तत्काल रोकिनुपर्छ । नयाँ सरकारले कसैको आस्थालाई आधार बनाएर न्याय दिने नदिने काम गर्न हुदैन । गृहमन्त्री सुदन गुरुङले एकजना वृद्धलाई अन्याय परेपछि घरमै गएर भेटघाट गरिसके । त्यो राम्रो हो । तर, अमिशामाथिको अन्यायलाई गृहमन्त्रीले चासो नदिएको स्पष्ट हुन्छ । अहिलेसम्म अमिशालाई भेटेको खवर सार्वजनिक भएको छैन । सरकारमा नेतृत्व गर्नेहरुले जनतामाथि विभेद गर्न हुदैन । सामाजिक सञ्जाल मार्फत धाकधम्की दिने, अश्लिल गाली गर्ने, बलात्कार गर्छु भन्नेहरुलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । यो ढिलाईले अपराधिक मानसिकता भएकाहरुलाई राहत मिलिरहेको छ ।
सामाजिक सञ्जाल मार्फत बढ्दै गइरहेको हिंसा डरलाग्दो छ । अझ, महिलाहरुमाथि धेरै हिंसाका घटनाहरु भइरहेका छन् ।
महिलामाथि खुलेयाम भइरहेको अपराधप्रति सरकार गम्भीर बन्नुपर्छ । अपराधका लागि अपराधिक मानसिकता भएकाहरुले प्रविधिको दुरुपयोग गरिरहेका छन् । सामाजिक सञ्जालहरुको अत्याधिक दुरुपयोग गरेर महिलामाथि साइवर हमला भइरहेको छ । अघिल्लो सरकारले सामाजिक सञ्जाल नियमन गर्ने भनेको यसैका लागि थियो । गलत सामग्रीहरु हटाउन सजिलो हुन्छ भन्ने उद्देश्यले सामाजिक सञ्जालहरुलाई नियमन गर्न खोजिएको थियो । नियमन गर्ने हो भने अपराध गर्नेहरुलाई तत्कालै नियन्त्रणमा लिन सकिन्छ । समाजलाई भड्काउने सामग्रीहरु पोष्ट हुने थिएनन् । महिलामाथि अपराध हुने कुनै सामग्री पोष्ट गर्न नमिल्ने बनाउन सजिलो हुने थियो । सामाजिक मर्यादा बमोजिम मात्रै सञ्जालहरु चल्न पाउने थिए । नियमन नभएसम्म सञ्जालहरुमा छाडातन्त्र चलिरहन्छ । मनपरी चलिरहन्छ । नेपाली समाज, नेपालको कानुनसँग सञ्जालहरुलाई सरोकार हुने छैन । यसैले सरकारले यसतर्फ पनि ख्याल गरोस् । महिला दिदीबहिनीहरुमाथि साइवर हमला गर्नेहरुलाई तत्काल कानुनी कारबाही गर ।







प्रतिक्रिया