सम्पादकीय

घरको सुरक्षा जाँच गरौं

घरको सुरक्षा जाँच गरौं


सम्पादकीय

झापाको बिर्तामोडमा शनिवार बिहान एक बालिकाको असावधानीका कारण ज्यान गयो । असामयिक एवम् अकल्पनीय घटनाबाट बालिकाको मृत्यु हुन पुग्यो । बिर्तामोडमा भएको हृदयविदारक घटनाले सबै अभिभावकहरुलाई झसंग बनाएको छ । सावधानी अपनाउन नसक्दा हुने मानवीय क्षतिले अभिभावक अप्रत्यासित समय व्यहोर्न बाध्य भए । बिर्तामोडमा भएको घटना भवितव्य थियो । झ्यालमा रेलिङ नहुँदा दुर्घटना होला भन्ने ज्ञान नभएकै कारण अहिले पश्चाताप गर्नु परेको छ । आगामी दिनमा यस्तो दुखद् घटना कसैको पनि जीवनमा आउनु हुदैन । शोकाकुल परिवारलाई मात्र होइन, यो घटनाले सबैलाई ठुलो सावधानी अपनाउनु पर्ने ज्ञान दिएको छ ।

हाम्रो लापरबाही र असुरक्षित भौतिक संरचनामाथि यस प्रकारका घटनाले गम्भीर प्रश्न खडा गरिदिएको छ । दमकबाट आफन्तकोमा पाहुना आएकी पाँच वर्षीया बालिकाको तीन तला माथिबाट खसेर ज्यान जानु एउटा भवितव्य मात्र होइन । यो हाम्रो घर निर्माण र सुरक्षा मापदण्डप्रतिको चरम उपेक्षाको परिणाम पनि हो । जब यस किसिमको घटना हुन्छ, त्यो समयमा असाध्यै धेरै सतर्कता अपनाइन्छ । विस्तारै, सतर्कता अपनाउन छोडेपछि पुनः घटनाहरु दोहोरिदै जानेछन् । त्यसैले सधैं सावधानी अपनाउनुपर्छ । ती बालिका खेल्ने क्रममा रेलिङ नभएको झ्यालबाट तल खसेकी थिइन् । विडम्बना त के छ भने, सुरक्षाका लागि हुनुपर्ने रेलिङको साटो त्यहाँ एउटा कपडाको पर्दा मात्र थियो । झ्यालमा रेलिङ नहाल्नु नै लापरबाही हो । यस्तो गल्ती कसैले गर्नु हुदैन ।

साना बालबालिका भएका घरहरूमा झ्याल, कौसी र भ¥याङहरू पूर्ण रूपमा सुरक्षित र रेलिङसहितका हुनुपर्छ । अलि पछि हालौँला भनेर थाती राखिएका साना कामले कहिलेकाहीँ अपूरणीय क्षति निम्त्याउँछन् । एउटा परिवारले आफ्नो सन्तान गुमाउनु परेको छ । बालबालिकाहरू स्वभावैले चञ्चल हुन्छन् । उनीहरूलाई नयाँ ठाउँमा लैजाँदा वा घरमा खेल्न छोड्दा निरन्तर निगरानी आवश्यक हुन्छ । घर बनाउँदा सुन्दरतालाई भन्दा सुरक्षालाई प्राथमिकता दिनु आवश्यक छ । विशेष गरी अग्ला भवनहरूमा झ्याल र बार्दलीको उचाइ र मजबुतीमा कुनै सम्झौता गरिनु हुँदैन । बिर्तामोडको यो घटना एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता दुःखद घटनाहरु कसैले सुन्न नपरोस् । हरेक नागरिकले आफ्नो घरको सुरक्षाका आफैँ जाँच गर्नुपर्ने बेला आएको छ । आगामी दिनमा यस्ता लापरबाही दोहोरिन नदिन सबै पक्ष सचेत हुनु जरुरी छ ।

शेयर गर्नुहोस :

27
Shares