सम्पादकीय
आधुनिक युगमा सूचना र विचार प्रवाहको सशक्त माध्यम मानिएको सामाजिक सञ्जाल पछिल्लो समय घृणा, प्रतिशोध र हिंसा फैलाउने अखडा बन्दै गएको छ । प्रविधिको विकासले मानिसलाई जोड्नुपर्नेमा उल्टै समाजमा असहिष्णुता र डिजिटल जघन्य अपराधलाई प्रश्रय दिइरहेको छ । हालैका केही घटना र साइबर ब्यूरोको तथ्यांकले नेपालमा ‘साइबर बुलिङ’ कुन हदसम्म भयावह बन्दैछ भन्ने पुष्टि गर्दछ । राजनीतिक आस्थाका आधारमा सडकमा उत्रिएकी एक युवतीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइनु, एआईको दुरुपयोग गरी अश्लील र भ्रामक तस्बिर सार्वजनिक गरिनुले हाम्रो समाजको नैतिकतामाथि नै गम्भीर प्रश्न उठाएको छ । फरक विचार राख्नेमाथि खनिनु, महिलाको चरित्र हत्या गर्नु र नक्कली आईडीको सहारामा अपराध गर्नुले नेपाली डिजिटल स्पेस असुरक्षित बन्दै गएको देखिन्छ ।
नेपालमा राजनीतिज्ञदेखि सर्वसाधारणसम्म कोही पनि यसबाट अछुतो छैनन् । साइबर ब्यूरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ को चैतसम्म आइपुग्दा उजुरीको संख्या ह्वात्तै बढेर २ हजार ६७८ पुग्नुले अवस्था निकै गम्भीर मोडमा पुगेको संकेत गर्छ । विशेषगरी राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको समयमा यस्ता घटनाले सीमा नाघ्ने गरेका छन् । वैचारिक बहस हुनुपर्ने ठाउँमा व्यक्तिगत गालीगलौज र धम्कीले स्थान पाउनु लोकतान्त्रिक संस्कारको उपहास हो । आजको डिजिटल युगमा हातमा खुकुरी बोक्नेभन्दा मोबाइल बोक्नेले गर्ने अपराध झनै घातक बन्दै गएको छ । ‘सञ्जालमा बोलेको त हो नि’ भनेर उम्किन खोज्ने प्रवृत्तिले गर्दा कतिपयले यसलाई सामान्य रूपमा लिने गरेका छन् । तर, विद्युतीय माध्यमबाट कसैको मानमर्दन गर्नु, धम्की दिनु वा चरित्र हत्या गर्नु फौजदारी अपराध हो ।
त्यसैले अब सरकार र प्रहरीको सक्रियता मात्र पर्याप्त छैन । विद्यालय, कलेज र अभिभावक तहबाटै डिजिटल साक्षरता र साइबर कानुनबारे सचेतना फैलाउनु आवश्यक छ । अभिव्यक्ति स्वतन्त्रताको अर्थ अरूको आत्मसम्मान र बाँच्न पाउने अधिकारको हनन गर्नु होइन । सामाजिक सञ्जाललाई सिर्जनात्मक र सभ्य बनाउन प्रत्येक प्रयोगकर्ताले जिम्मेवारी बोध गर्नैपर्छ । नत्र, यो प्रविधि वरदान होइन, समाज ध्वंश गर्ने विष बन्ने निश्चित छ । यसले आज पीडकको भूमिकामा रहनेहरु भोलीका दिनमा पीडित बन्न सक्नेछन् । यसबाट जो कोहि पीडित बन्न सक्ने खतरा छ । साइवर अपराध यसैगरी वृद्धि हुने हो भने नेपाल अति अशान्त हुने छ । एकअर्काप्रति घृणा भाव जागृत गर्ने र सामाजिक सद्भाव नै खल्बलिने जोखिम छ । यसैले समाजलाई साइवर अपराधको चंगुलबाट जोगाउन सबैले सकारात्मक भूमिका निर्वाह गरौं ।







प्रतिक्रिया