सम्पादकीय

लागुऔषधको डढेलो निभाउन सहयोग गरौं

लागुऔषधको डढेलो निभाउन सहयोग गरौं


सम्पादकीय
झापा लागुऔषधको ओसारपसार र प्रयोगका हिसावले लामो समयदेखि जोखिमपूर्ण क्षेत्रका रूपमा चिनिएको छ । गाउँदेखि शहरसम्म लागुऔषधको कारोवार र प्रयोग हुदै आएको छ । खुला सिमाना र भौगोलिक अवस्थाको फाइदा उठाउँदै आपराधिक समूहहरूले जिल्लामा आफ्नो जालो फैेल्याएका छन् । यस्तो परिस्थितिमा जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको ‘मिसन अप्रेसन ब्राउन’ ले लागुऔषधको यो जालो तोड्ने दिशामा एउटा बलियो र सराहनीय कदम चालेको छ । भद्रपुर वडा नं. ४ बाट २१८ ग्रामभन्दा बढी ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित दुई जनालाई पक्राउ गरिएको छ । यो प्रहरीको ठुलो सफलता हो । विशेष सूचनाका आधारमा छापा मारिनुले प्रहरीको सक्रियता ठिकै रहेको पुष्टि गर्छ । बरामद गरिएको नेपाली, भारतीय, अमेरिकी, पाकिस्तानी र अस्ट्रेलियन मुद्राले लागुऔषधको कारोबार स्थानीय स्तरमा मात्र सीमित नभई यसको सम्बन्ध जिल्ला बाहिर पनि रहेको खुलेको छ ।

भद्रपुरको घटनाले बहुआयामिक वित्तीय अपराधसँग जोडिएको समेत शंका उब्जाएको छ । चैत महिनाको कारबाही प्रक्रिया हेर्दा लागुऔषधको जालो तोड्न प्रहरी सक्रिय भएको स्पष्ट हुन्छ । २७ वटा मुद्दा दर्ता हुनु र ४५ जना अभियुक्त पक्राउ पर्नुले जिल्लामा यसको जरो धेरै नै फैलिएको प्रमाणित हुन्छ । सबैभन्दा धेरै भद्रपुर क्षेत्रबाट ३१ जना पक्राउ पर्नुले भद्रपुरलाई कारोबारीहरूले मुख्य अखडा बनाएको देखिन्छ । काँकडभिट्टा, दमक, बिर्तामोड र गौरीगञ्जमा भएका कारबाहीहरूले प्रहरीले जिल्लाव्यापी रूपमा ‘अप्रेसन’ गरिरहेको सार्वजनिक भइसकेको छ । प्रहरीको एक्लो प्रयासले मात्र लागुऔषधको पूर्ण उन्मूलन सम्भव छैन । यो अभियानलाई अझ सशक्त बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।

अभियानलाई सफल एवम् प्रभावकारी बनाउन लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कडा कारबाही गरी अपराधीहरूको मनोबल गिराउनु पर्छ । फेरि उनीहरु कारोवारमा आउन नसकनुन् । यसका साथै, समाजले पनि प्रहरीलाई व्यापक रुपमा सहयोग गर्नुपर्छ । घरधनीहरूले कोठा भाडामा दिँदा होस् या टोलमा शंकास्पद गतिविधि देख्दा, तत्काल सूचना दिने बानीको विकास गर्नुपर्छ । ‘मिसन अप्रेसन ब्राउन’ प्रहरीको अभियान भए पनि यसलाई नागरिक तहको साझा अभियानका रुपमा सफल बनाउनुपर्छ । प्रहरीले एक सिजनको लागि अभियानलाई कार्यतालिकामा मात्र सिमित बनाउन हुदैन । स्वस्थ र सुरक्षित झापा निर्माणको महाअभियानका रुपमा सञ्चालित कार्यक्रम सफल बनाउन सबैले सहयोग गरौं । झापामा लागुऔषधको डरलाग्दो डढेलो निभाउन सबै पक्ष एकजुट हुन अपरिहार्य छ ।

शेयर गर्नुहोस :

81
Shares