सम्पादकीय

चल्ला, अण्डा निर्यातमा लगाइएको प्रतिबन्ध फुकाऊ

चल्ला, अण्डा निर्यातमा लगाइएको प्रतिबन्ध फुकाऊ


सम्पादकीय

झापासहित विभिन्न जिल्लाहरुमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि किसानहरु प्रत्यक्ष मारमा परेका छन् । लगानी नोक्सान हुने एकातिर छ भने अन्य किसानहरुले विक्रीको वातावरण प्राप्त गर्न सक्दैनन् । जसका कारण किसान दोहोरो मारमा परिरहेका छन् । कुनै पनि क्षेत्रमा महामारी वा संक्रमण देखिँदा सुरक्षाका उपायहरू अपनाउनु राज्यको दायित्व हो । झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि पंक्षीजन्य वस्तुको ओसारपसारमा नियन्त्रण गरिएको छ । यो कदम स्वाभाविक मान्न सकिदैन । आयात निर्यात नै रोक्ने काम गर्नु प्रशासनको अव्यवहारिक कदम हो । सुरक्षाको नाममा लगाइएको अव्यवहारिक र एकपक्षीय प्रतिबन्धले अहिले झापाका सयौं कुखुरा पालक किसान र व्यवसायीहरूलाई आर्थिक धराशयीको अवस्थामा पुराएको छ ।

झापामा प्रशासनले चैत २३ गतेसम्मका लागि १५ दिनको प्रतिबन्ध लगाए पनि उक्त अवधि नाघिसक्दा समेत निर्यात खुल्ला नगर्नुले सरकारी निकायको गैरजिम्मेवारीपन प्रष्ट पार्छ । सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने, कोशी प्रदेशबाट बाहिर चल्ला र अण्डा लैजान प्रतिबन्ध लगाइएको छ, तर बाहिरबाट यस प्रदेशमा भित्र्याउन भने रोक लगाइएको छैन । यस्तो एकतर्फी ढोका ले न संक्रमण रोकिन्छ, न त स्थानीय उत्पादनले बजार पाउँछ । यो निर्णयले स्थानीय किसानलाई मात्रै दण्डित गरेको देखिन्छ । संक्रमण फैलिने जोखिम सबैतिर हुन्छ । झापामा व्यवसायीहरुले मात्रै फैल्याउने भन्ने होइन । बाहिरबाट चल्ला, अण्डा लिएर आउछ भने त्यहाँबाट पनि जोखिम हुन्छ । यहाँको संक्रमण पनि लिएर जान्छ । यस तर्फ प्रशासनको ध्यान जानुपर्ने हो ।

झापाका किसान र व्यवसायीहरूले यदि कुनै फार्ममा संक्रमण छैन र त्यसको ‘निरोगिताको प्रमाणपत्र’ उपलब्ध छ भने, त्यस्ता स्वस्थ उत्पादनलाई बजारसम्म पुग्न दिनुपर्छ । मुख्य राजमार्ग नै ठप्प पार्ने र १५ दिन भनिएको समय सीमा काटेर पनि कुनै औपचारिक निर्णय नदिनुले किसानको करोडौंको लगानी जोखिममा परेको छ ।
झापामा करिब ८ सय ब्रोइलर किसान र ५० भन्दा बढी लेयर्स व्यवसायीहरू छन् । अण्डा र चल्ला निश्चित समयभित्र निर्यात नहुँदा खोरमै नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले बैंकको ऋण र दानाको महँगीले थिचिएका किसानलाई यो अनिश्चितकालीन प्रतिबन्धले असाध्यै समस्या बनाएको छ । बर्डफ्लू नियन्त्रणका लागि वैज्ञानिक विधि अपनाउनु पर्छ । किसानको घाँटी निमोठ्ने गरी अव्यवहारिक निर्णय गर्न हुदैन । सरकार र सम्बन्धित प्रशासनले तत्काल कुखुरा पालक किसानको समस्या सम्बोधन गर्नुपर्छ । संक्रमण नभएका क्षेत्रका स्वस्थ उत्पादनलाई स्वास्थ्य मापदण्ड पूरा गरी बजार लैजान दिने व्यवस्था तत्काल मिलाउनुपर्छ ।

शेयर गर्नुहोस :

81
Shares