सम्पादकीय

अटो-सिटीमा व्यवहारिक भाडादर कायम गर

अटो-सिटीमा व्यवहारिक भाडादर कायम गर


सम्पादकीय
झापाको व्यस्त बजार बिर्तामोडमा सञ्चालित अटो तथा सिटी सफारीको भाडादरमा देखिएको अनियन्त्रित वृद्धिका कारण सर्वसाधारण मारमा परेका छन् । स्थानीय प्रशासन र नगरपालिकाले तोकेको मापदण्ड विपरीत चालकहरूले मनपरी भाडा असुलिरहेको गुनासो बढ्दो छ । पुराना भाडादरको पालना नगर्नु र नयाँ भाडादर कायम नहुनुले यात्रु मारमा परेका हुन् । यस क्षेत्रमा भाडादरमा एकरूपता नहुनु गम्भीर विषय हो । आफुखुशी भाडा तोकेर यात्रुलाई आर्थिक क्षति गराउन पाइदैन । त्यसका लागि सरोकारवालाहरुले पनि यस विषयलाई गम्भीरताका रुपमा लिनुपर्छ । ३० रुपैयाँ तिरिरहेका यात्रुले एक्कासि लोकल भाडा ५० रुपैयाँ वा सोभन्दा बढी तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

भाडा वृद्धिका पछाडि चालक र व्यवसायीले इन्धनको मूल्य वृद्धिलाई मुख्य कारण मानेका छन् । पेट्रोलको मूल्य प्रतिलिटर १७० बाट बढेर माथि पुग्दा पुरानै दरमा सेवा दिन कठिन भएको उनीहरूको तर्क छ । तर, भाडादर वृद्धि गर्ने विषय औपचारिक र आधिकारिक हुनुपर्छ । व्यवसायीको मर्कालाई पूर्णतः नजरअन्दाज गर्नु पनि हुदैन । विगतकै भाडामा सेवा दिनुपर्छ भन्ने होइन । सबैले भाडामा एकरुपमा कायम गर्नुपर्छ । आफुखुशी गर्न हुदैन ।
भाडा बढाउने अधिकारिक निकाय नगरपालिका वा यातायात व्यवस्थापन समिति हो । अटो तथा सिटी चालकहरुले आवश्यक समन्वय गरेर भाडाका विषयमा तत्काल निर्णय गर्न जरुरी छ । निर्णय नगर्ने हो भने भाडादरमा ठुलो वेथिति हुनेछ ।

पछिल्लो समय चालकहरुले आफूखुशी भाडा लिइरहेको गुनासो छ । स्वघोषित रूपमा भाडा तोक्नु कानुनी वेथिती हो । सरोकारवालामाथिको उपहास हो । अहिले बिर्तामोडका फरक–फरक स्टेण्ड र रुटमा फरक–फरक भाडादर हुनुले यात्रुहरू ठगिने क्रम बढ्दो छ । यसलाई निण्न्त्रण गर्न अब ढिलाई गर्न हुदैन । ०७८ सालमा बिर्तामोड नगरपालिकाले न्यूनतम ३० देखि अधिकतम ११० रुपैयाँसम्मको भाडादर कायम गरेको थियो । पाँच वर्षअघि कायम गरिएको भाडा अहिलेसम्म कार्यान्वयन गर्ने विषय पनि जटिल नै छ । त्यसैले अहिलेको महंगी अनुसार भाडा पुनरावलोकन नहुनुले समस्या बढेर जाने निश्चित छ । यात्रुको गुनासो सम्बोधन गर्नलाई नियमनकारी निकायको अग्रसरताको पनि जरुरी छ ।
अब सम्बन्धित पक्षले सरोकारवालासँग वार्ता गरी व्यवहारिक भाडादर कायम गर्नुपर्छ । भाडादर तोकेर मात्र पुग्दैन, त्यसको कार्यान्वयन र अनुगमनका लागि ट्राफिक प्रहरीको सक्रियता पनि आवश्यक छ । त्यसपछि
प्रत्येक अटोमा भाडाको सूची अनिवार्य टास्न अनिवार्य गर्नुपर्छ ।

शेयर गर्नुहोस :

81
Shares