सम्पादकीय

उत्कृष्ट शिक्षकका लागि दावी गरौं

उत्कृष्ट शिक्षकका लागि दावी गरौं


सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकाले शैक्षिक विकासका लागि शिक्षक र विद्यार्थीलाई नगद पुरस्कार तथा सम्मानमार्फत प्रोत्साहन गर्ने कामलाई नमूना कार्यक्रमको रुपमा प्रशंसा भइरहेको छ । वास्तवमा यो आफैँमा सराहनीय पनि छ । स्थानीय सरकारले शिक्षा क्षेत्रमा लगानी मात्र नभई, मेहनत गर्ने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको आत्मबल बढाउन चालेको यो कदमले नगरको शैक्षिक वातावरणमा सकारात्मक सन्देश प्रवाह गरेको छ । हालै सम्पन्न कार्यक्रममा ५० हजार नगदसहित उत्कृष्ट शिक्षक र ४ जीपीए ल्याउने १९ जना विद्यार्थीलाई पुरस्कृत गरिनुले ‘मेहनती विद्यार्थीको कदर’ गर्ने संस्कृतिको विकास गरेको छ । बिर्तामोड नगर प्रमुख पवित्रा देवी महतारा प्रसाई कै भनाईलाई आधार मान्ने हो भने पनि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन ल्याउन शिक्षक र विद्यार्थीको संयुक्त योगदान अपरिहार्य छ ।

नगरपालिकाले भौतिक पूर्वाधारमा मात्र केन्द्रित नभई शैक्षिक जनशक्ति र विद्यार्थीको मनोबलमा लगानी गर्नु सकारात्मक कदम हो । विशेष गरी सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सम्मान गर्दा यसले स्वस्थ प्रतिस्पर्धाको वातावरण समेत सृजना गर्दछ । तर, एउटा दुखद् पक्ष पनि छ । ५० हजार रुपैयाँको ठुलो राशी र सम्मान हुँदाहुँदै पनि उत्कृष्ट शिक्षकका लागि परेको आवेदन संख्या न्यून हुनुले हाम्रो शैक्षिक मानसिकतामा रहेको एउटा गम्भीर समस्यालाई उजागर गरेको छ । १६ सय भन्दा बढी शिक्षक कार्यरत रहेको नगरमा जम्मा १४ जनाले मात्र आवेदन दिनुले शिक्षकहरूमा कि त उत्साहको कमी छ, कि त निवेदन दिएर पुरस्कार लिनु हुन्न भन्ने गलत भाष्यले जरा गाडेको छ । यसलाई सबैले चिर्न आवश्यक छ ।

पुरस्कार र सम्मानका लागि विश्वव्यापी रूपमा नै मापदण्ड र दाबी प्रक्रिया हुन्छ । शिक्षकहरूले आफ्नो पेसागत दक्षता, नवप्रवर्तन र शैक्षिक उपलब्धिहरूलाई लिपिवद्ध गरी प्रस्तुत गर्नु आफैँमा एउटा प्राज्ञिक अभ्यास हो। यसलाई निवेदन हालेर पुरस्कार माग्ने संकुचित सोचभन्दा माथि उठेर आफ्नो कार्यसम्पादनको मूल्यांकनका रूपमा बुझ्नु र बुझाउनु आवश्यक छ । नगरपालिकाले आगामी दिनमा आवेदन प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनुका साथै शिक्षक महासंघ तथा विद्यालयहरूले आफ्ना उत्कृष्ट शिक्षकहरूलाई आवेदनका लागि प्रोत्साहित गर्न जरुरी छ । जबसम्म दक्ष जनशक्तिले आफ्नो योगदानको गर्वका साथ दाबी गर्दैनन्, तबसम्म प्रोत्साहनको यो अभियानले पूर्ण सार्थकता पाउन सक्दैन । बिर्तामोडले सुरु गरेको यो उत्साहलाई अझ व्यापक बनाउन सम्पूर्ण शैक्षिक सरोकारवालाहरूले सकारात्मक सोचका साथ सहभागिता जनाउनु पर्दछ, सहयोग गर्नुपर्छ ।

शेयर गर्नुहोस :

108
Shares