सम्पादकीय
झापाको बिर्तामोडमा चैत २१ गतेबाट सुरु भएको ‘प्रथम सन्थाल गोल्डकप’ भव्यताका साथ सम्पन्न भएको छ ।
सन्थाल समुदायका लागि मात्र होइन, यो गोल्डकप सिंगो झापाकै लागि गौरवको विषय हो । विभिन्न असजिलाहरुका बीच गोल्डकप सकिएको छ । यो एउटा खेलकुद प्रतियोगिता मात्र होइन, यो एउटा सीमान्तकृत समुदायको सक्षमता र पहिचानको सशक्त सार्वजनिकिकरण पनि हो । सामाजिक, आर्थिक र राजनीतिक रूपले लामो समयदेखि राज्यको मूलधारबाट पछि पारिएको सन्थाल समुदायका युवाहरूले आफ्नै पहलमा यति ठूलो आयोजना सम्पन्न गरेर समाजमा एक उदाहरणीय साहस प्रस्तुत गरेका छन् । सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोडले समुदायको क्षेत्रमा भव्य कार्यक्रम गरेर सक्षमता प्रस्तुत गरिदियो ।
इच्छाशक्ति हुने हो भने कुनै पनि समुदाय पछि पर्दैन भन्ने उदाहरण पेश गरेको गोल्डकपलाई सिंगो समुदायको साझा कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्छ । गोल्डकप आयोजना हुनु आफैँमा महत्वपूर्ण पक्ष हो, तर यसको गहिराइ त्योभन्दा बढी छ । यसले नेपाली फुटबल जगतमा सन्थाल समुदायको बाहुल्यता र उनीहरूमा रहेको प्रचुर खेल कौशललाई उजागर गरेको छ । मैदानमा देखिएको खेलाडीहरूको उत्साह र आयोजक युवाहरूको व्यवस्थापकीय आँटले यो सन्देश दिएको छ । कि सन्थाल समुदाय अब दर्शक वा श्रमशक्तिमा मात्र सीमित छैन । उनीहरू ठूला सार्वजनिक कार्यक्रमहरूको नेतृत्व गर्न पनि पूर्ण सक्षम छन् । यसले समुदायभित्रको एकतालाई मजबुत बनाउनुका साथै युवाहरूमा नयाँ ऊर्जा र आत्मविश्वास भरेको छ । पहिलो पटकको आयोजना भएकाले केही प्राविधिक कमजोरीहरू देखिनु स्वभाविक हो । स्रोत साधनको अभाव र अनुभवको कमीका बाबजुद जुन स्तरको खेल प्रदर्शन र व्यवस्थापन भयो, त्यसलाई सफलताको रुपमा हेर्नुपर्छ ।
आयोजकले कमजोरीहरूबाट पाठ सिक्दै आगामी संस्करणहरूलाई थप परिष्कृत र व्यवस्थित बनाउनु पर्छ । सरोकारवाला निकाय, स्थानीय सरकार र खेल प्रेमीहरूले यो आँटलाई प्रशंसामा मात्र सिमित नराखी भौतिक र आर्थिक सहयोगको हात बढाउनु आवश्यक छ । सन्थाल गोल्डकपले नेपाली खेलकुदको क्षेत्रमा नयाँ संभावनाको उजागर गरिदिएको छ । आगामी दिनमा अभियानलाई निरन्तरता दिनु र यसलाई राष्ट्रियस्तरको प्रतियोगिताका रूपमा स्थापित गर्दै जानुपर्छ । युवाहरूको हिम्मतले भोलिका दिनमा अन्य पछि पारिएका समुदायलाई पनि अघि बढ्न प्रेरित गरेको छ । अहिलेका कमजोरीलाई सुधार्दै अघि बढ्न सके सन्थाल गोल्डकपले नेपाली फुटबलमा बृहत योगदान गर्ने निश्चित छ ।







प्रतिक्रिया