सम्पादकीय

गर्मीमा स्वास्थ्य जोखिम हुन्छ, लापरबाही नगरौं

गर्मीमा स्वास्थ्य जोखिम हुन्छ, लापरबाही नगरौं


सम्पादकीय
केही दिनयता मुलुकका अधिकांश भू-भागमा तापक्रमले नयाँ रेकर्ड कायम गरिरहेको छ । चर्को घाम र ‘लु’ (तातो हावा) को बढ्दो जोखिमले जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा देखिएको यो अस्वाभाविक गर्मीले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । तसर्थ, यस्तो प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाप्रति सचेत रहनु आजको आवश्यकता हो । गर्मीमा देखिने प्रमुख स्वास्थ्य समस्याहरूमा डिहाइड्रेसन (पानीको कमि), हिट स्ट्रोक, टाउको दुख्ने, चक्कर लाग्ने, छालामा एलर्जी तथा झाडापखाला जस्ता समस्याहरू मुख्य हुन् । हिट स्ट्रोकबाट ज्यान जान सक्ने जोखिमसमेत हुने भएकाले यसलाई सामान्य रूपमा लिनु गल्ती हुन सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू गर्मीको उच्च जोखिममा हुन्छन् ।

यस प्रकारको स्वास्थ्य समस्याबाट बच्ने पहिलो उपाय भनेको शरीरमा पानीको मात्रा सन्तुलित राख्नु हो । तिर्खा नलागे पनि पर्याप्त मात्रामा सफा पानी, फलफूलको रस, नरिवल पानी वा जीवनजल पिउने बानी बसाल्नुपर्ने चिकित्सकहरुको धारणा छ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समयमा घाममा ननिस्कनु नै स्वास्थ्यका हिसावले उचित हुन्छ । यदि कुनै काम विशेषले बाहिर निस्कनै परेमा पूर्ण शरीर ढाकिने गरी हलुका र सुतीको कपडा लगाउने, छाता ओड्ने र चश्माको प्रयोग गर्ने गर्नुपर्छ । त्यस प्रकारको उपाउ अपनाउन सकियो भने गर्मीमा हुने स्वास्थ्य समस्याबाट सुरक्षित रहन सकिन्छ ।

गर्मीको समयमा खानपानमा पनि विशेष ध्यान पु¥याउनु आवश्यक छ । बासी, सडेगलेका र जथाभावी बेचिने खानेकुराबाट टाढै रहनुपर्छ । घरबाहिरको धुलोधुवाँ र कडा घामबाट जोगिन घरको झ्यालढोका बन्द गर्ने र सकेसम्म शीतल स्थानमा बस्ने प्रयास गर्नुपर्छ । घरवरिपरि सरसफाइ कायम राख्नु र घाममा काम गर्ने श्रमिक वर्गलाई विशेष सुरक्षा व्यवस्था प्रदान गर्नु स्थानीय सरकार तथा सम्बन्धित निकायको जिम्मेवारी हो । विशेष गरी बजार क्षेत्रमा खुला रुपमा विक्रीका लागि राखिएका खानेकुराहरुको उपयोगमा ध्यान दिनुपर्छ । बजारमा पाइने खानेकुराहरुमा ध्यान नदिए स्वास्थ्यमा समस्या हुन्छ । यसैले गर्मीमा स्वास्थ्यको विशेष ध्यान दिनैपर्छ । गर्मीमा हेलचेक्राई नगरौं । थोरै सावधानीले पनि स्वास्थ्य जोखिमबाट बच्न सकिन्छ ।

शेयर गर्नुहोस :

81
Shares