सम्पादकीय

झापा ११ लाई देशकै उत्कृष्ट बनाउन सबैको साथ जरुरी

झापा ११ लाई देशकै उत्कृष्ट बनाउन सबैको साथ जरुरी


सम्पादकीय
नेपाली फुटबलमा मोफसलको बलियो क्लवका रुपमा स्थापित झापा ११ फुटबल क्लब समग्र झापावासीको शान र पहिचानको प्रतिक हो । स्थापनाकालदेखि नै मैदानमा उत्कृष्ट प्रदर्शन र राष्ट्रिय लिगमा सशक्त खेल प्रदर्शन गर्न सफल झापा ११ ले हालै सम्पन्न ३८ औं विराट गोल्डकपको उपाधि विजेता बनेको छ । तीन दर्जन ट्रफी उठाउन सफल झापा ११ को खेल प्रदर्शनले जिल्लाको नामलाई संसारभर परिचित गराउन सफल भएको छ । विभिन्न वाधा अवरोधका बीच झापा ११ ले फुटवलप्रेमीहरुलाई खुशी दिएको छ । क्लव सञ्चालनका कयौं चुनौतिहरुका बीचमा पनि खेलाडीहरुले सबैको मन जितिरहेका छन् । क्लवले झापालाई फुटबलको उर्वर भूमिका रूपमा स्थापित गर्न मद्दत गरिरहेको छ ।

झापाको फुटवल क्लव भन्नासाथ झापा ११ सबैलाई स्मरण हुन्छ । खेलाडीहरुको मेहनतकै कारण झापा ११ यहाँसम्म आएको हो । खेलाडीहरुको मेहनत र जलकुमार गुरुङको अगुवाईले क्लव सफल बनिरहेको छ । यस क्लवलाई सधैं सफल बनाउन नदेखिएका धेरै पात्रहरुको योगदान पनि सम्मानजनक छ । झापा ११ ले उपाधि जितिरहेको छ । समर्थकहरुको मन जितिरहेको छ । तर, क्लवलाई आर्थिक रुपमा मजवुद बनाउन अपेक्षाकृत सहयोग भइरहेको छैन । झापा ११ झापालीहरुको साझा क्लव हो । झापाबासीको सम्पत्ति हो । यसको संरक्षण गर्ने दायित्व जलकुमार गुरुङहरुको मात्र होइन । सबैको साथ सहयोग हुन आवश्यक छ । झापालीको मान प्रतिष्ठा हो, झापा ११ । तर, खेलक्षेत्रका नाममा हुने राजनीतिले यो क्लव पनि मारमा परेको छ ।

क्लबलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सधैँ प्रतिस्पर्धी र व्यावसायिक बनाइराख्न खेलाडीको मेहनतले मात्र पुग्दैन । यसका लागि राज्य, निजी क्षेत्र र आम नागरिकको उत्तिकै साथ र सहयोग आवश्यक पर्दछ । झापा ११ सँग क्षमतावान् खेलाडीहरू छन् । यद्यपि, पर्याप्त भौतिक पूर्वाधार, दिगो आर्थिक स्रोत र वैज्ञानिक प्रशिक्षणको अभावमा क्लबले आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न चुनौती झेल्दै आएको छ । एउटा क्लब देशकै उत्कृष्ट बन्नका लागि त्यसको व्यवस्थापन व्यावसायिक हुन जरुरी छ । यसका लागि स्थानीय सरकारहरूले खेलकुद बजेटलाई आफ्नै पालिकामा मात्र सिमित बनाउन हुदैन । क्लबको दीर्घकालीन विकासका लागि बजेट व्यवस्थापनमा सहयोग गर्नैपर्छ । झापाका उद्यमी र व्यवसायीहरूले यस क्लबलाई ब्रान्डका रूपमा आत्मसात् गर्दै प्रायोजनमार्फत सहयोग पु¥याउनु आवश्यक छ । साथैं, झापा गोल्डकप र झापा ११ लाई एक बनाउन आवश्यक छ । गोल्डकपले झापा ११ सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गर्न आवश्यक छ । समग्र जिल्लाको गौरवका रुपमा रहेको क्लबलाई देशकै नमूना र उत्कृष्ट बनाउन सबैको साथ जरुरी परेको छ ।

शेयर गर्नुहोस :

108
Shares