सम्पादकीय
पछिल्लो समय नेपालका अदालतहरूमा सम्बन्धविच्छेदका मुद्दाहरूको चाङ लाग्ने गरेको छ । यसले नेपाली समाजमा सम्बन्धमाथि प्रश्न उठाएको छ । पारिवारिक सम्बन्धमा आउने दरारले मुद्दाको चाङ लागेको हो । यसले
हाम्रो सामाजिक र पारिवारिक संरचनामा गम्भीर संकट आएको पनि संकेत गर्दछ । अदालतको तथ्यांकले बैंकिङ कसुरपछि सबैभन्दा बढी मुद्दा सम्बन्धविच्छेदकै देखिएको छ । देशभर वार्षिक ४० हजारभन्दा बढी यस्ता मुद्दा दर्ता हुनु सामान्य विषय होइन । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकदेखि महिना दिनअघि मात्र विवाह गरेका युवा जोडीसम्म अदालत पुग्नुले नेपाली समाजमा परिवारप्रतिको निष्ठा र धैर्यता खस्कँदै गएको स्पष्ट हुन्छ ।
सम्बन्धविच्छेद बढ्नुका पछाडि वैदेशिक रोजगारी, आर्थिक स्वतन्त्रता, आधुनिक जीवनशैली र पश्चिमा संस्कृतिको नक्कल जस्ता अनेकौँ कारण हुन सक्छन् । तर, सबैभन्दा ठूलो समस्या दम्पतीबीच आपसी समझदारी, विश्वास र धैर्यताको कमी देखिन्छ । सानोतिनो मनमुटाव हुनासाथ वा ईगोका कारण सम्बन्ध नै सिध्याउने हतारो गर्ने प्रवृत्ति बढ्दो छ । विवाहलाई धार्मिक वा सामाजिक पवित्र बन्धनभन्दा पनि एउटा करारका रूपमा लिने सोचले परिवारलाई अस्थिर बनाएको छ । जसको प्रत्यक्ष रुपमा बालबालिका मारमा परिरहेका छन् ।
सम्बन्ध विच्छेद अधिकारको कुरा होला, तर सम्बन्ध जोगाउनु सभ्यता र संस्कारको कुरा हो । समाजलाई बलियो बनाउने हो भने सम्बन्ध जोड्न आवश्यक छ ।
कानुनी रूपमा सम्बन्ध अन्त्य गर्न सजिलो हुँदै गएको छ । त्यसले निम्त्याउने सामाजिक र मानसिक जटिलता भने भयानक छ । त्यसैले अदालत पुगेका जोडीहरूलाई कानुनी प्रक्रियामा लैजानुअघि प्रभावकारी मेलमिलाप र परामर्शमा जोड दिनु आवश्यक छ । अहिलेको आवश्यकता स्वतन्त्रताको नाममा सम्बन्ध भत्काउनु होइन । सकेसम्म संवादको माध्यमबाट असमझदारी हटाउनु हो । दम्पतीहरूले एकअर्काको अस्तित्व र योगदानको सम्मान गर्ने, वैदेशिक रोजगारीमा रहेकाहरूले प्रविधिको प्रयोग गरी विश्वासिलो वातावरण बनाउने र अभिभावकहरूले पनि छोराछोरीको सम्बन्ध जोगाउन रचनात्मक भूमिका खेल्न जरुरी छ । सम्बन्धमा दरार आउनु स्वभाविक हो, तर त्यसलाई सुधार्ने प्रयास नगरी अन्त्य गर्नु राम्रो होइन । घरभित्रै आपसी संवाद र एकापसमा संस्कार विकास गर्न सके मात्र भत्किँदै गरेको नेपाली परिवारलाई बचाउन सकिन्छ । समाजमा रहेको विकृत पक्षप्रति बेलैमा चासो दिन आवश्यक छ । भत्किनुभन्दा पहिले जोगाउन सजिलो छ, भत्किएपछि बचाउन मुस्किल हुनेछ । त्यसैले नेपाली समाजलाई बचाउनको निमित्त सम्बन्धलाई जोगाऔं ।







प्रतिक्रिया